शनिबार, मंसिर १६, २०८०
Saturday, December 2, 2023

टोकियो – जापानको टोकियोमा प्राकृतिक प्रकोप पूर्व तयारी अभ्यास हुने भएको छ । प्राकृतिक प्रकोप आइपरेको समयमा तत्काल बच्नका लागि अपनाउनुपर्ने उपायका बारेमा सचेतना जनाउन पूर्व तयारी अभ्यास हुने भएको हो ।

टोकियो महानगरीय प्रहरी विभाग आयोजक र एनआरएनए जापान सह आयोजक रहने गरी अगस्ट ३१ तारिख टोकियोको नाकानोस्थित सिकिनो मोरी पार्कमा उक्त अभ्यास गर्न लागेको एनआरएनए जापानकी उपाध्यक्ष डा एलिजा केसी भण्डारीले जानकारी दिइन् । प्राकृतिक प्रकोपबाट हुने जोखिमलाई न्यूनीकरण गर्दै तत्काल त्यस्तो अवस्थामा अपनाउनुपर्ने कुराका बारेमा सचेतना दिनका लागि स्टाम्प र्‍यालीसहितको पूर्व तयारीको अभ्यास हुनेछ ।

बिहान साढे ९ बजेदेखि १ बजेसम्म पूर्व तयारी अभ्यास हुने गर्न लागिएको छ । ‘भूकम्प जस्तो प्राकृतिक प्रकोपको जोखिम उच्च रहेको जापानमा भूकम्पका बेला के कस्तो पूर्व तयारी गर्नुपर्छ के कसरी बच्नुपर्छ त्यस बारेमा जानकारी गराइने छ,’ उपाध्यक्ष केसी भण्डारीले भनिन् ‘भर्चुअल रियालिटीबाट भूकम्प आउँदा कस्तो महसुस हुन्छ भन्ने कुरालाई हेर्न सकिने भएकोले कार्यक्रममा सहभागिताको लागि अनुरोध छ ।’

पूर्व तयारी अभ्यास जापान प्रहरीसँगको सहकार्यमा कार्यक्रम गर्न लागेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए । यसले प्राकृतिक प्रकोपको सचेतनाका साथै जापान र नेपालको दौत्य सम्बन्धलाई थप मजबुत बनाउन सहयोगीको भूमिका निर्वाह गर्ने उनको विश्वास छ ।

कार्यक्रम उपयोगी र सचेतनामूलक रहनुका साथै स्टाम्प र्‍यालीमा सहभागिता जनाउनेलाई उपहार पनि प्रदान गरिने भएकोले सहभागिताका लागि जापानवासी नेपाली समुदायलाई एनआरएनए जापानका महासचिव टिकाराम खरेलले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया