काठमाडाैं – त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउने ८ मध्ये चार जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार सनाखत भएका चार जनामा जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका- ८ का अन्दाजी २४/२५ वर्षका सविन रम्तेल र कास्की फुलबारीका अन्दाजी २४/२५ वर्षका सुमन थापा छन् ।
बाँकी चार जनाको पनि परिचय खुलाउने प्रयास भइरहेको एसपी मिश्रले जानकारी दिए । बिहान काठमाडौंबाट पोखरा हुँदै बेनी जान लागेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा दुर्घटना भई त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा १५ जना घाइते भएका छन् । तीमध्ये १४ जनालाई काठमाडौं रिफर गरिएको छ । उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरूमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ की २२ वर्षीया अञ्जु राना मगर, म्याग्दीको रघुगंगा गाउँपालिका- ७ का २९ वर्षीय प्रविन पुन र परिचय नखुलेका थप तीन जना छन् ।
काठमाडौं रिफर गरिएका घाइतेहरूमा पर्वतको मोदी गाउँपालिका-१ का ४१ वर्षीय गुरूदत्त पौडेल, बसका चालका म्याग्दीको बेनी नगरपालिका-६ का ३० वर्षीय दिपक थापा, वेनी नगरपालिका-३ का २४ वर्षीय पूर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका- १ का १९ वर्षीय कुशल अधिकारी, काठमाडौंको कीर्तिपुर नगरपालिका-९ का ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका-२ का १६ वर्षीया गीता जग्जाली छन् ।
त्यस्तै, बाग्लुङकी १९ वर्षीया सुष्मा क्षेत्री, पर्वतको फलेवास नगरपालिकाकी ६३ वर्षीया हरिकला गौडेल, ३२ वर्षीय बंगलादेशी नागरिक मोहमद हजिरहुल र म्याग्दीको रघुगंगा गाउँपालिका-६ की २३ वर्षीया रिना रानामगरलाई पनि काठमाडौं पठाइएको एसपी मिश्रले जानकारी दिए । उनीहरूको अवस्था मध्यम रहेको पनि उनले बताए । दुर्घटनामा बागलुङ गलकोटकी ६८ वर्षीया ज्ञानु बुढामगर सामान्य घाइते भएकोमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका-६ का ३४ वर्षीय रोशन तामाङको सकुशल उद्धार गरी प्रहरी नियन्त्रणमा लिइएको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालय गजुरीमा राखी दुर्घटनाबारे सोधपुछ भइरहेको छ । साँघुरो सडकमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।