टोकियो – म्याग्दी प्रवासी नेपाली संघ (मोना) को केन्द्रिय महाधिवेशन नजिकिदैं गर्दा नेतृत्वका लागि दाबी गर्दै एकपछि अर्का आकांक्षीहरु खुल्न थालेका छन् । यसैबीच हालका वरिष्ठ उपाध्यक्ष ददिवल खड्काले अब मोनाको नेतृत्व जापानले पाउनुपर्ने भन्दै अध्यक्षको बलियो दाबेदारकारुपमा आफुलाई अगाडि सारेका छन् ।
करिव ३ दशक लामो समयदेखि जापानमा बस्दै आएका खड्काले अब आफुले मोनाको नेतृत्व लिने सहि बेला आएको समुद्रपारिलाई बताए । हङकङ, युरोप, न्युजिल्याण्ड, कोरिया, अमेरिकाले नेतृत्व सम्हालिसकेको र अहिलेसम्मका अध्यक्षहरु सबै जिल्लाको दक्षिणी भेगबाट भएको बताए । खड्काले अब मोनाको नेतृत्व जापानले पाउनुपर्ने र जिल्लाको भेगीय हिसाबले भन्ने हो भने पनि उत्तरीभेगले पाउनुपर्ने जिकिर गरे ।
मोनाको संस्थापक अध्यक्ष प्रकाश पुन (हङकङ) धवलागिरी गाउँपालिका, दोस्रो अध्यक्ष योगेन्द्रबहादुर क्षेत्री (बेलायत) धवलागिरी गाउँपालिका, तेस्रो अध्यक्ष चक्रबहादुर थापा (न्युजिल्याण्ड) धवलागिरी गाउँपालिका, चौथो अध्यक्ष ओमनारायण जुग्जाली (दक्षिण कोरिया) मालिका गाउँपालिका र पाँचौं अर्थात हालका अध्यक्ष अम्मर छन्त्याल (अमेरिका) धवलागिरी गाउँपालिकाबाट रहेका छन् । यसो भएको हुनाले खड्काले जापानको प्रतिनिधित्व गर्दै अन्नपूर्ण गाउँपालिकाबाट आफुले अबको मोनामा नेतृत्वमा रहेर परिणाममा देखिने गरी काम गरेर देखाउने उदघोष गरे ।
समुद्रपारिसंग संक्षिप्त कुरा गर्दै खड्काले भने – ‘अबको दुईबर्ष पूरा म मोनाका लागि समय नै छुट्याएर होमिएर लाग्ने छु, आगामी दुईवर्ष मोना बाहेक मेरो अन्यत्र कतै संलग्नता रहने छैन, अन्यत्र बाँकी रहेका सबै जिम्मेवारीबाट पूरै अलग्गिएर आगामी दुईबर्ष मोनामै मेरो ध्यान केन्द्रित हुने छ । नेतृत्वदायी भूमिकामा रहेकाहरु ‘ब्यक्ति एक, जिम्मेवारी अनेक’ हुँदा विगतमा अपेक्षित परिणाम हासिल गर्न नसकेको अनुभव पनि हामीसंग छ । मेरो पालादेखि यो पूरै करेक्शन गरेर जाने प्रतिबद्धता ब्यक्त गर्दछु । मुल नेतृत्वले दायाँ-बायाँ अन्यत्रको पदीय जिम्मेवारीको लोभ गर्नुहुँदैन, जुन कुरो बिधानले पनि स्पष्ट किटान गरेको छ । मर्यादाक्रम, रोलक्रम र भेगिय हिसाबले मात्र नभएर कार्यक्षमता र योगदानका हिसाबले पनि मेरो दावी अस्वभाविक छैन । म विश्वस्त छु कि साथीहरुले यी सबै तथ्यगत आधारमा टेकेर मुल्याङ्कन गरी सौहाद्रपूर्ण वातावरणमा सर्बसम्मत ढंगले मलाई जिम्मेवारी दिनु हुने छ ।’
खड्का जापानमा रेष्टुरेन्ट, ग्रसरी, रेमिट्यान्स, ट्राभल, रियल स्टेट्, आयात-निर्यात, कन्सल्ट्यान्सी, डिजाइन-प्रिन्ट, आइटी, मानव संशाधन, एसएसडब्लु लगायतका दर्जनभन्दा बढि ब्यवसायिक क्षेत्रमा सलग्न छन् ।
नेपाली ब्यवसायी संघ (NBA) जापानका हालका वरिष्ठ उपाध्यक्ष, एनआरएन आइसीसीका एशिया उपसंयोजक समेत रहेका खड्का जापानको नेपाली समुदायमा चिरपरिचित ब्यक्ति मानिन्छन् । एनआरएन अभियानमा पनि सक्रिय रहँदै आएका खड्का कम्तिमा पनि अबको दुईवर्ष पूरै मोनामा फोकस हुने उनले बताए ।
मोनाको नेतृत्वमा जापानबाट खड्काले दाबी पेश गर्दै गर्दा नेदरल्याण्डबाट मोनाका पूर्व वरिष्ठ उपाध्यक्ष मिम पुर्जाले पनि अध्यक्षमा दाबी गर्ने बताएका छन् भने एनआरएन युकेका पूर्व अध्यक्ष योगकुमार फगामीको पनि मोनाको नेतृत्वमा आउन चाहेको चर्चा छ ।
मोनाको केन्द्रिय महाधिवेशन आगामी अक्टोबर १३, १४ र १५ तारिख म्याग्दी जिल्लाको सदरमुकार बेनी बजारमा हुने भएको छ । महाधिवेशनको तिब्र तैयारी भईरहेको बेनीबाट मोना सचिवालयले जनाएको छ । आसन्न महाधिवेशनले
आगामी दुई वर्ष कार्यकालका लागि नयाँ नेतृत्व सहितको कार्यकारी समिति गठन गर्ने, बिधानलाई संशोधन गरी समयसापेक्ष बनाउने, आगामी कार्यकालका लागि भावी कार्ययोजना तथा कार्यनीति तर्जुमा गर्ने लगायतका मुलभूत कार्यसूची रहेको अमेरिकाबाट अध्यक्ष अम्मर छन्त्यालले बताए ।
मोनाको अन्तर्राष्ट्रिय सञ्जाल हाल विश्वका ३२ राष्ट्रमा बिस्तारित छन् । एनआरएन पछि मोना दोस्रो ठूलो अन्तर्राष्ट्रिय सञ्जाल भएको संस्था मानिन्छ।***