Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको आभास भएको बताएका छन् । बिहान शीतल निवासमा बोलाइएको सर्वदलीय बैठकमा उनले यस्तो बताएका हुन् ।

संवैधानिक मर्म र भावनाअनुसार हामी हिँड्न सकेका छौँ कि छैनौँ भनेर पनि सोच्नुपर्ने बेला भएको उनको भनाई छ । ‘अहिले आएर कता कता हाम्रो संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको छ,’ बैठकमा राष्ट्रपति पौडेलले भने, ‘यसले गर्दा शक्तिपृथकीकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हामी हिँड्न सकेका छौँ कि छैनौँ भनेर पनि सोच्नुपर्ने बेला भएको छ भन्ने मलाई लाग्छ ।’

उनले आफू कुनै सक्रिय हुन खोजेको नभई राष्ट्रप्रतिको चिन्ताले दलहरूसँग छलफल गरेको बताए । ‘मैले एक्टिभिजम (सक्रियता) देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो । विभिन्न कारणले तपाईँहरू सबैसँग भेट पनि हुन सकेको थिएन । तपाईँहरूसँग भेटेर राष्ट्रको चिन्ता गरौँ भन्ने पनि थियो,’ उनले भने ।

राष्ट्रपतिले जनताका यावत् समस्याहरूको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्ध हुँदा जनताका आवाज मुखरित हुने काम बन्द भएको बताए । ‘यदाकदा दलहरुबीच विवाद, द्वन्द्व र तिक्तता देखापर्ने गरे पनि राष्ट्रिय स्वार्थ र हितका लागि वार्ता, संवाद र छलफलबाट निकासमा पुग्नुपर्छ,’ उनले भने, ‘ लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो । नेपालका राजनीतिक दलहरूले विगतमा विषम परिस्थितमा पनि संवादकै माध्यमबाट समस्या सुल्झाएका कैयौँ उदाहरणहरू हाम्रासामु छन् ।’

बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, रक्षामन्त्रीसमेत रहेका उपाध्यक्ष पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड, गृहमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे, नागरिक उन्मुक्ति पार्टीबाट भूमि व्यवस्था मन्त्रीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र सन्तोष परियार, जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान र अनितादेवी साह, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी, एकीकृत समाजवादीबाट मेटमणि चौधरी, जसपाबाट प्रमुख सचेतक प्रदीप यादवलगायत नेता सहभागी भएका थिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएन । राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएकाले सर्वदलीय बैठकमा पार्टीबाट कोही नजाने एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको तर्क छ ।

तपाईको प्रतिक्रिया