काठमाडाैं – प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । संसदीय सुनुवाइ समितिले साेमबार सर्वसम्मत अनुमाेदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।
यसअघि साउन २३ गते बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो । साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेका थिए ।
संसदीय सुनुवाइबाट अनुमोदन भइसकेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । श्रेष्ठले साउन २१ गते कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । उमेरहदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि अवकासमा गएपछि वरिष्ठतम् न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका थिए ।
२०१६ सालमा डोटीमा जन्मिएका श्रेष्ठ २०३८ सालमा शाखा अधिकृताबाट सरकारी सेवामा प्रवेश गरेका थिए । उनी जिल्ला,उच्च अदालतहुँदै सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए । २०७३ सालदेखि उनी सर्वोच्च अदालतको न्यायाधीश थिए ।