Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौं – विवादित व्यवसायी व्यवसायी दुर्गा प्रसाईँको अभिव्यक्तिप्रति वीरगन्ज महानगरपालिकाले गम्भीर आपत्ति जनाएको छ । महानगरपालिकाले विज्ञप्ति जारी गर्दै प्रसाईँले मारवाडी समुदायप्रति लगाएको गम्भीर आरोप निन्दनीय र आपत्तिजनक रहेको बताएको छ ।

‘सम्पूर्ण मारवाडी समुदायलाई नै लक्षित गरी मेडिकल व्यवसायी दुर्गा प्रसाईँको मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहसनहस तुल्याएको भन्नेजस्ता गैरजिम्मेवारपूर्ण सार्वजनिक अभिव्यक्तिप्रति खेद व्यक्त गर्दछु, कसैको व्यक्तिगत विषयलाई लिएर सम्पूर्ण समुदायलाई नै आघात पुग्ने गरी अभिव्यक्ति दिनु निन्दनीय छ,’ महानगरका मेयर राजेशमान सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा औद्योगिकीकरण र व्यावसायिक लगानीमार्फत मुलुकमा रोजगारी सिर्जना गरी अर्थतन्त्र चलायमान बनाउन मारवाडी समुदायको ठुलो योगदान रहेको उल्लेख छ ।

विवादित मेडिकल व्यवसायी प्रसाईँ पछिल्लो समय सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूमाथि आरोप लगाइरहेका छन् । झापास्थित बी एन्ड सी मेडिकल कलेज एवं पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक प्रसाईँले बैंकबाट लिएको ऋण पनि नतिर्ने बताउँदै आएका छन् । उनलाई पक्राउ गर्न माग गर्दै राष्ट्रिय मारवाडी व्यवसायी परिषद्ले साइबर ब्यूरोमा उजुरी दिएको छ ।

तपाईको प्रतिक्रिया