Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – साढे चार महिनामै सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गर्नुको पछाडि सत्तारुढ नेपाली कांग्रेसको दबाबले काम गरेको पाइएको छ । खासगरी, नक्कली भुटानी शरणार्थी प्रकरणको रोकिएको अनुसन्धान अघि बढाउने उपत्यका प्रहरी प्रमुख श्यामलाल ज्ञवालीलाई हटाउने उद्देश्यसहित असमयमै एआईजीहरुको सरुवा गरिएको प्रहरीस्रोतले बताएको छ ।

सत्तारुढ गठबन्धनको बैठकमा एआईजी सरुवाबारेसमेत छलफल भएको थियो । कांग्रेसको केन्द्रीय समिति बैठकमा एउटा पक्षले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुपर्ने माग गरेको थियो । पछिल्लो ६० केजी सुन तस्करी प्रकरणसँग जोडेर उनको राजीनामा मागिएको थियो । श्रेष्ठको राजीनामा माग्नुको पछाडि सभापति देउवानिकट प्रभावशाली नेता बालकृष्ण खाँणको गिरफ्तारीको आक्रोश थियो ।

आईजीपी बसन्त कुँवरले नचाहँदा नचाहँदै एआईजी ज्ञवालीको निर्देशनमा खाँणलाई अनुसन्धानको दायरामा ल्याएर पक्राउ गरिएको थियो । खासगरी तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको मोबाइल म्यासेजले खाँणको संलग्नता खुलेको थियो । मन्त्रीस्तरीय निर्णयबाट नक्कली शरणार्थीको फाइल अघि बढाएको देखिएपछि खाँणलाई पक्राउ गरिएको थियो । त्यसो त, आईजीपी कुँबरकै कतिपय सन्देशहरु पनि शंकास्पद छन् । भलै, उनको सचिवालयले त्यसको खण्डन गरेको छ ।

प्रहरी स्रोतका अनुसार, कांग्रेस सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञवालीलाई हटाउन दबाब दिइरहेका थिए । ज्ञवाली आईजीपीका लागि प्रतिस्पर्धी थिए । सरकारले कुँवरलाई आईजीपी नियुक्ति गरेपछि यी दुई प्रहरी अधिकारीबीच सौहार्द सम्बन्ध थिएन् । तर, एउटा गम्भीर प्रकृतिको संगठित अपराधको अनुसन्धान अघि बढाएका एआईजीलाई चार महिनामै सरुवा गर्नाले सरकारप्रति सन्देह उत्पन्न गराएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणबारे दोस्रो चरणको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयले थप जाहेरी लिन थालेपछि एकाएक सरुवाको निर्णय भएको छ । सो प्रकरणमा खाँणपत्नी मञ्जु पनि मुछिएकी छिन् । एक अभियुक्तले देउवापत्नी आरजु राणालाई पनि पोलेपछि अनुसन्धानमा कांग्रेसले विशेष चासो देखाएको थियो ।

उपत्यका प्रहरी प्रमुखमा एआईजी दीपक थापा ल्याइएको छ । एआईजी मीरा चौधरीलाई प्रशासन विभागमा सरुवा गरिएको छ भने उनले सम्हाल्दैआएको कार्य विभागमा ज्ञवालीलाई पठाइएको छ । एआईजी टेकप्रसाद राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट मानवस्रोत विभागमा सरुवा गरिएको छ । मानवस्रोतका प्रमुख सन्दीप भण्डारी प्रशिक्षण प्रतिष्ठान सारिएको छ ।

 

तपाईको प्रतिक्रिया