Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – सत्तास्वार्थले अनिश्चितकालका लागि स्थगित भएको कोसी प्रदेश सभाको तेस्रो बैठक आजदेखि सुरु हुने भएको छ । शुक्रबार दिउँसो १ बजेदेखि प्रदेश सभाको तेस्रो अधिवेशन सुरु हुने कोसी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । सचिव पराजुलीका अनुसार आजको बैठकमा सभामुखको राजीनामा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन र सरकार विस्तारबारे सभालाई जानकारी गराउने र अध्यादेशमार्फत आएको बजेट अस्वीकृत गर्ने प्रस्तावमा छलफल गरेर निर्णय गर्ने कार्यसूची रहेको छ ।

तत्कालीन एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत गुमाएपछि १५ असारदेखि कोसी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । तेस्रो अधिवेशनको बैठकमै गठबन्धनबाट दोस्रोपटक नियुक्त कांग्रेसका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने र एमाले नेतृत्वको कामचलाउ सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन विधेयक दर्ता गराएर पारित गराई कार्यान्वयन गराउने सरकारको योजना छ । सभामुख बाबुराम गौतमले गठबन्धन सरकारको बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएपछि हाल कोसी प्रदेश सभामा नयाँ सभामुख नियुक्त गरिएको छैन । संसदीय बहुमतको अंकगणितले गर्दा दलहरूले सभामुख चयन गराउन चासो दिएका छैनन् । त्यसैले उपसभामुख सिर्जना दनुवारले नै बैठक सञ्चालन गराउनेछिन्।

दोस्रो कार्यकालका लागि कोसी प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठक १७ पुस ०७९ मा सुरु भएको थियो । सोही अधिवेशनको अन्तिम बैठकले १७ फागुन ०७९ मा दुईतिहाइभन्दा बढी बहुमतले तत्काल १ नम्बर प्रदेशको नाम कोसी प्रदेश नामकरण गरेको थियो । कोसी प्रदेश सभाको हिउँदे अधिवेशनको बैठक १३ वटा बैठकपछि १७ फागुनमा स्थगित भएको थियो । नामकरणको विरोधमा आन्दोलन चर्किएपछि २९ चैत ०७९ मा हिउँदे अधिवेशन अन्त्य भएको थियो । त्यसपछि १४ जेठ ०८० मा कोसी प्रदेश सभाको बजेट तथा बर्खेअधिवेशन सुरु भएको थियो । तर, एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सरकारबाट माओवादी केन्द्र र जसपा बाहिरिएपछि कामचलाउ सरकारले जेठ अन्तिममा अध्यादेशमार्फत नीति कार्यक्रम र बजेट प्रस्तुत गरेपछि फेरि बर्खे अधिवेशन अन्त्य भएको थियो । कामचलाउ मुख्यमन्त्री कार्कीले १४ असार ०८० मा विश्वासको मत लिनका लागि तेस्रो विशेष अधिवेशन बोलाएका थिए । १५ असारमा उनले विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिश्चितकालका लागि कोसी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक स्थगित भएको थियो ।

सत्तास्वार्थले कोसी प्रदेश सभा बन्धक हुँदा तत्काल दर्ता भएका प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन) अध्यादेश, २०८० र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०८० लाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक निष्क्रिय बनेका थिए ।जसले गर्दा प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि आह्वान गरेको विज्ञापन पनि रद्द भएको थियो । आठ महिना बित्दा पनि अझै नियमावली बनाइएको छैन । कोसी प्रदेश सभाले दोस्रो कार्यकालको आठ महिनामा तीनवटा अधिवेशन व्यतीत गरिसके पनि अझै सभा सञ्चालनका लागि नयाँ नियमावली बनाउन सकेको छैन । कोसी प्रदेश सभा पहिलो कार्यकालकै नियमावली ग्रहण गरेर सञ्चालन भइरहेको छ । नयाँ नियमावलीको मस्यौदा तयार भएर प्रदेश सभामा पेस भए पनि सभा नियमित सञ्चालन हुन नसक्दा पारित हुन सकेको छैन । मस्यौदा समिति संयोजक लीलाबल्लभ अधिकारीले चाँडो संसदबाट नियमावली पारित भएमा कोसी प्रदेश सभा नयाँ नियमअनुसार सञ्चालन गर्न सहज हुने बताए ।

 

तपाईको प्रतिक्रिया