Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

लामो पर्खाइपछि बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अपेक्षाकृत उपलब्धिमूलक हुन सकेन । राष्ट्रिय मुद्दामा कम र सभापति शेरबहादुर देउवाका आलोचक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति कटाक्षमा बितेको आठ दिनको छलफलले कांग्रेसलाई चलायमान बनाउन सकेन । तथापि प्रत्यक्ष प्रसारणका कारण चर्चामा रह्यो । कांग्रेस बैठकको प्रत्यक्ष प्रसारणबाट कसलाई लाभ या हानि भयो भन्ने त लेखाजोखा हुँदै जाला, त्यसले कांग्रेसको पारदर्शी अभ्यासलाई भने सघाउ पुर्‍याएको कतिपयको बुझाइ छ । बैठक कांग्रेसका आगामी दिन र दिशालाई डोर्‍याउन कति फलदायी बन्यो ? अहिले तीव्र बनेको भ्रष्टाचारविरुद्धको ‘एक्सन’मा कांग्रेस कहाँनेर छ ? ०८४ को निर्वाचन रणनीतिबारे के भइरहेको छ ? यिनै विषयमा केन्द्रित रहेर महामन्त्री विश्वप्रकाश शर्मासँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

केन्द्रीय कार्यसमिति बैठकपछि कतिको उत्साहित हुनुहुन्छ ?
उत्साहित नै छु । किनभने, केन्द्रीय कार्य समितिको बैठक बस्नुपूर्व फरक-फरक विचारहरू हामीले फरक-फरक ठाउँमा व्यक्त गरिरहेका थियौं । ती सबै विचारहरू एक ठाउँमा आए । बैठकपूर्व नेपाली कांग्रेस पार्टी कता-कता के-केमा अल्मलिएको छ कि भन्ने खालका विश्लेषण थिए । बैठकले निर्णयले मार्गचित्रण स्पष्ट ग-यो । लामो समयपछि बैठक पनि बस्यो, त्यसले लामो समयका लागि केही योजना पनि बनायो । त्यसहिसाबले मन माझा-माझका कुरा, आलोचनाका कुरा र आत्मालोचनाका कुरा यी समग्र कुरामा एउटा राजनीतिक दलको जीवनमा यसले उत्साह नै लिएको छ भनेर मान्नुपर्छ ।

प्रत्यक्ष प्रसारण गरेर नयाँ अभ्यास गर्नुभयो तर कतिपयले यसलाई तपाईंहरू (महामन्त्रीद्वय)को हैसियत परीक्षण पनि हो भने । के भन्नुहुन्छ ?
प्रत्यक्ष प्रसारणबाट नेपाली कांग्रेस पार्टीलाई फाइदा भयो । किनभने नेपाली कांग्रेस स्वदेश र विदेशमा रहेका समस्त नेपालीलाई आफ्नो परिवारको सदस्य ठान्छ । त्यस हिसाबले कांग्रेस जे छ, कुनै रङ नभरीकन पार्टी जस्तो छ, सार्वजनिक रूपमा पनि त्यही रूपमै प्रस्तुत भयो । त्यो हुँदै गर्दा हाम्रा कमजोरीहरू पनि देखिए । व्यवस्थापकीय रूपमा होस् या अभिव्यक्तिको शैलीमा, कमजोरीसँगै हाम्रा राम्रा पक्ष पनि उजागर भए । एकताबद्ध निर्णय गरेर बैठक टुंगियो । त्यसकारण कसलाई नाफा वा घाटाभन्दा पनि अब हरेक राजनीतिक दलहरूले आफ्ना कुरा पारदर्शी रुपमा राखुन् र सार्वजनिक रूपमा त्यही देखाऊन् भनेर हामीले शुरूआत गरिदियौँ ।बैठक नेतृत्वको प्रशंसा र महामन्त्रीहरुको आलोचनामै सीमित भयो भनिन्छ नि !
पार्टीभत्रका कमजोरीहरू बैठकमा केलाइन्छन् । कमजोरी केलाउनुको अर्थ कुरा नै नमिल्ने होइन । बैठकमा सभापतिको पनि आलोचना भयो, महामन्त्रीहरूको पनि । आलोचना भएका कुरालाई हामीले नकारात्मक होइन, हार्दिकतापूर्वक लिएर जवाफ दियौँ । त्यसकारण बैठक जिम्मेवार ढंगले साझा निष्कर्षमा पुग्यो । अब हेर्नुपर्नेचाहिँ के हो भने जसरी कांग्रेसमा सभापति र महामन्त्रीहरूको खुलेर आलोचना हुन्छ, आलोचनालाई हार्दिकतापूर्वक लिएर फेरि अगाडि बढिन्छ, कांग्रेसका प्रतिस्पर्धी दल र नयाँ भनिएका दलहरू के गर्छन् भन्ने चुनौती हो ।

देशको पुरानो लोकतान्त्रिक पार्टीको एक सातासम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले गम्भीर अपराधमा संलग्न बालकृष्ण खाँणलाई निलम्बनसम्म गर्न सकेन, किन ?
नेपाली कांग्रेस या अरू कुनै दल फौजदारी मुद्दामा फैसला गर्ने अन्तिम निकाय होइनन् । जसले दोषी हो वा कोही निर्दाेष हो भनेर फैसला सुनाउँदैन । तर बैठकले भुटानी शरणार्थी प्रकरण शब्दै उल्लेख गरेर, ललिता निवास प्रकरण उल्लेख गरेर, क्विन्टल सुनकाण्डमा उठेका प्रश्नलाई बैठकको निर्णयमा राखिराखेर के भनेको छ भने- भ्रष्टाचारको धर्म, जात, राजनीतिक दल, सप्रदाय केही हुँदैन । त्यसैले सरकार जुन कानुन अन्तर्गत अगाडि बढ्दैछ ? त्यो निर्माण गर्दा हिजो हामी थियौं । यो सरकार अगाडि बढ्दै गर्दा हामी साथमा छौँ । अहिले भ्रष्टाचारविरुद्ध जसरी कानूनी कारबाही चलिरहेको छ, त्यसमा राज्यका निकायहरूलाई सबल पार्ने भूमिका पनि कांग्रेसले नै खेलेको हो । त्यसकारण कांग्रेस पार्टीले को व्यक्तिलाई निलम्बन ग-यो या गरेन भन्दा पनि त्यसमा के धारणा बनायो, साथ दियो कि दिएन भन्ने प्रश्न मुख्य हो ।

यो कांग्रेस त्यहि कांग्रेसको रुपमा रहिरहँदैन । बदलिएको कांग्रेस र बलियो कांग्रेसलाई अगाडि लिएर हामी नेतृत्व गरेर मुलुकलाई हाँक्छौँ । हामी भन्दा म अथवा गगन थापा भन्ने कुरा भएन । शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसले अब काँध फेर्दैछ । कांग्रेस अब काँध फेर्ने चरणमा छ । नेतृत्व अब नयाँ स्थापित भएर आउने छ ।

यसले कांग्रेसमाथि नैतिक प्रश्न त उठायो नि, होइन ?
व्यक्तिले गरेको कुरा व्यक्तिले नै जिम्मा लिने हो । संसारभरि कहीँ पनि छोराले गरेको अपराधमा बाबुलाई जेल हाल्ने कानून छैन । त्यहाँनेर नैतिक जिम्मेवारी पनि हुँदैन । छोरा या छोरी बिग्रियो भने बाआमाले सोच्ने एउटा कुरा होला, कानूनी कारबाही व्यक्तिले नै बेहोर्नुपर्छ । कांग्रेस पार्टीले कम्तीमा अरू दलहरू जस्तो विरोधाभास देखाएन । पार्टीको कागजमा निलम्बन गरिदिने, त्यसलाई दराजमा थन्क्याइदिने, अनि संसद्मा उभिएर निर्दाेषलाई फसाउन खोजिँदै छ त कांग्रेसले भनेको छैन नि । संसद्मा उभिएर कांग्रेसले भ्रष्टाचारको फाइल होइन, फायर खोल्नुपर्छ भनेको छ । त्यसकारण कांग्रेसलाई हेर्दा निर्णयमा हेर्नुप-यो, एक्सनमा हेर्नुप-यो ।

गठबन्धन दल र अन्य दलको विषयमा नबोल्न नेतृत्वले रोक लगाएको भन्ने गुनासो किन ?
विलकुल गलत । बैठकमा आफ्ना कुरा राख्दै गर्दा नेता शेखर कोइरालाले यतातिर लाइभ भनियो, अर्कातिर फेरि महामन्त्रीजीले चिट थमाउनुभयो, अन्य दलका बारेमा पटक्कै नबोल्नु भनेर चिट थमाउनुभयो भन्नुभयो । भोलिपल्ट मैले त्यसलाई स्पष्ट पारेँ । महामन्त्रीभन्दा दुईजना महामन्त्री छौं । त्यो चिट कुन महामन्त्रीले थमाउनुभयो यो सबैलाई थाहा हुनुप-यो । मैले भनेँ– थमाउने महामन्त्री म नै हो । त्यो लेखेको मैले हो । बैठकमा सामान्य ‘ग्राउन्ड रुल’ हुन्छ । केन्द्रीय समितिको बैठकको केही मर्यादा हुन्छ । त्यहाँ फोन नउठाउने, अनिवार्य फोन उठाउनु परे बैठक बाहिर जाने, ‘साइड टक’ नगर्ने, कुनै पनि राजनीतिक दलको चुनाव चिह्नको कुरा नल्याउने त्यो चिटमा लेखिएको थियो ।दल विशेषको नाम लिएर बोल्दा गठबन्धनलाई असर पार्ने चिन्ता पो हो कि ?
किन र ? पार्टीका साथीहरुले बोल्दै गर्दा गृहमन्त्रीको राजीनामा माग्नुभयो । कसैले अर्थमन्त्रीका बारेमा कुरा गर्नुभयो । कसैले अरुबारेमा कुरा गर्नुभयो । गठबन्धन दलमा हामी छौं भन्दैमा सबै कुरा ठीक छ त हामी भन्दैनौं नि !

संस्थापनइतरका नेता शेखर कोइराला सभापति देउवाप्रति नरम बनेको, सभापतिनिकट उपसभापति पूर्णबहादुर खड्कासँग महामन्त्रीद्वयको कुरा मिलेको चर्चा हुने गर्छ । १५औँ महाधिवेशनमा अहिलेका गुटहरू भत्किएर नयाँ बन्ने संकेत हो यो ?
१५औँ महाधिवेशन आउन दुई वर्ष बाँकी छ । दुई वर्ष पछिको महाधिवेशनबारे अहिल्यै चर्चा गर्नु उपयुक्त हुन्न । अर्काे, पार्टीभत्र कोही सधैँभरि एकै समूह वा व्यक्तिसँग मिल्छ भन्ने पनि हुन्न । सभापतिमा प्रतिस्पर्धा गरेकाहरू सधैँ झगडा गरेर बस्नुपर्छ भन्ने परिकल्पना हो र ? त्यसकारण सभापतिका प्रतिस्पर्धीहरू एकै ठाउँमा हुनुभयो, मिल्नुभयो भने कांग्रेसलाई नै राम्रो हुने हो । समाजलाई नै राम्रो हुने हो ।

नेपाललाई समुन्नत राष्ट्र बनाउने अजेन्डा लिएर चुनावमा जानुपर्छ, जितेर आएपछि साढे चार वर्ष अनावश्यक डिस्कसन, डिबेट बन्द गर्नुपर्छ । राजनीतिक रूपमा सबै निषेध गर्नुपर्छ भन्ने होइन, तर ध्यान राष्ट्र निर्माणमा जानुपर्छ । अनि फेरि चुनावको मिति घोषणा भयो भने चुनावी रापतापमा लाग्नुपर्छ ।

पार्टीको नीति र नेतृत्व नफेरेसम्म आमनागरिक अझ भनौँ युवा पुस्तालाई कांग्रेसले आफूप्रति आकर्षित गर्न सक्छ ?
नीति निरन्तर परिमार्जन भएर जाने विषय हो । नेपाली कांग्रेसले लिएको नीति पछाडि नेपालका सबै राजनीतिक दल उभिनुभएको छ । अब नेतृत्वको सवालमा कि नेतृत्व परिमार्जन भएर जाने हो कि बिदाई भएर जाने हो । कांग्रेसको महाधिवेशनबाट नेतृत्वमा हामी आउने हो । सबैले के कुरामा ढुक्क माने हुन्छ भने- यो कांग्रेस त्यहि कांग्रेसको रुपमा रहिरहँदैन । बदलिएको कांग्रेस र बलियो कांग्रेसलाई अगाडि लिएर हामी नेतृत्व गरेर मुलुकलाई हाँक्छौँ । हामी भन्दा म अथवा गगन थापा भन्ने कुरा भएन । शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसले अब काँध फेर्दैछ । कांग्रेस अब काँध फेर्ने चरणमा छ । नेतृत्व अब नयाँ स्थापित भएर आउने छ ।

२०७९ को निर्वाचनमा पुराना दलहरूप्रति केही हदसम्म आक्रोश र नयाँ दल, स्वतन्त्र उम्मेदवारहरूप्रति केही आकर्षण देखियो । यो कांग्रेसका लागि पनि थ्रेट होइन ?
केन्द्रीय कार्यसमितिको बैठकमा यसबारे समीक्षा भयो । तर यथार्थचाहिँ के हो भने २०७४ भन्दा २०७९ मा कांग्रेसले गणितीय रूपमा सुधार गरेको छ । सँगै राजनीतिप्रति आम मानिसमा २०७४ मा भन्दा वितृष्णा बढेको छ । त्यो वितृष्णा दलहरूसँग पनि बढ्छ र हामी जस्ता राजनीति गर्नेहरूसँग पनि बढ्छ । हामीले हेक्का राख्नुपर्ने के हो भने दलहरूप्रति, नेतृत्वप्रति, लोकतान्त्रिक प्रणालीप्रति वितृष्णा होइन, विश्वास बढोस् । यो देश बन्छ, बनाउन सकिन्छ भन्ने विश्वास बढोस् ।

अन्त्यमा यसपटक गठबन्धन बनाएर चुनाव लड्नुभो, आउँदो निर्वाचनको परिदृश्य कस्तो देख्नुहुन्छ ?
कतिपय दलले मिसन-२०८४ भनिरहेका छन् । मेरो बुझाई के हो भने नेपाललाई समुन्नत राष्ट्र बनाउने अजेन्डा लिएर चुनावमा जानुपर्छ, जितेर आएपछि साढे चार वर्ष अनावश्यक डिस्कसन, डिबेट बन्द गर्नुपर्छ । राजनीतिक रूपमा सबै निषेध गर्नुपर्छ भन्ने होइन, तर ध्यान राष्ट्र निर्माणमा जानुपर्छ । अनि फेरि चुनावको मिति घोषणा भयो भने चुनावी रापतापमा लाग्नुपर्छ । हामीकहाँ चाहिँ २०७४ को चुनाव सकिँदानसकिँदै २०७९ को चिन्ता, २०७९ को चुनाव सकिँदानसकिँदै २०८४ को चिन्ता हुन्छ । देशको चिन्ता कहिले गर्ने ? त्यसकारण २०८४ मा को-को लड्छन्, कसरी लड्छन्, को-को जित्छन् भन्ने कुराभन्दा यतापट्टि सोच्नुपर्छ ।

तपाईको प्रतिक्रिया