शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्‍याएको हो ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङका अनुसार बाढीले १० घर तथा होटल, प्रहरी चौक, जोमसोम-कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिंड्ने पुल, दुई गाडी र तीन विद्युत्‌का पोल बगाएको छ । ‘कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुन पाएन,’ उनले भने, ‘बाढीले कागबेनीको धर्मशाला पुरिएको छ । बस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको छ ।’

मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको बीचभागमा छ । यता, विद्युत्‌का पोल ढलेकाले विद्युत् आपूर्ति पनि बन्द भएको छ ।  प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा जनप्रतिनिधिहरू उद्धारमा खटिएका छन् । तर, पाण्डाखोलाको बाढीले भने सुरक्षाकर्मीलाई जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ ।

दुई दिनदेखि मुस्ताङमा लगातार पानी परिरहेको छ । वर्षाका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ । मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्रले पछिल्लो २४ घण्टामा २५.८ मिलिमिटर वर्षा मापन गरेको छ ।

तपाईको प्रतिक्रिया