बिहिबार, जेठ १७, २०८१
Thursday, May 30, 2024

सँस्कार, सँस्कृति, चाडपर्व, रीतिरिवाज हाम्रा अमूल्य सम्पत्ति हुन् । नेपाली समाजलाई युगौदैखि एकताको सुत्रमा बाँध्न यस्ता सँस्कृतिहरुको महत्वपूर्ण योगदान रहँदै आएको छ । यसको संरक्षण र संवर्धन गर्दै यिनका मूल्य, मान्यता र पहिचानलाई कायमै राख्न सक्नुपर्दछ । हरेक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हिन्दु नारीहरूको पर्व तीजमा विवाहित महिलाले आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामनासहित व्रत बस्ने र अविवाहित महिलाले सुयोग्य पति प्राप्त होस् भन्ने कामनासहित व्रत बसी पूजाआजा गरी मनाइने गरिन्छ । धार्मिक ग्रन्थकाअनुसार भगवान शिवलाई पति पाउँ भनि हिमालयकी छोरी पार्वतीले कठोर तपस्या गरी बरदान पाएको दिनको रुपमा तीजलाई लिईन्छ ।

तर हिजोआज तीजको परिभाषा लगभग बदलिएको छ । माइतीको आँगनमा बाबुआमा, दाजुभाइ र दिदीबहिनी जम्मा भएर मनाइने हरितालिका तीज अहिले होटल र पार्टी प्यालेसमा पुगेको छ । व्रत र पूजाआजा गरी भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मनाइने हरितालिका तीज के स्वदेशमा के विदेशमा आजभोलि दरका नाममा महिना दिनसम्म मनाउन थालिएको छ । व्रत र पूजाको सट्टामा भोजभतेर, शृङ्गारको नाममा गरगहना र वस्त्रको प्रदर्शन, गीतको नाममा उच्छृङ्खलता र नाचको नाममा अश्लीलताको भद्दा प्रदर्शन बढिरहेको पाईन्छ । यस प्रकारको विकृतिले हरितालिका तीज पर्वको मर्ममाथि गम्भीर प्रहार भएको छ भने नयाँ पुस्तामाझ तीज पर्वको गलत सन्देश प्रवाह भइरहेको छ ।

पछिल्लो समयमा हरेकजसो संघसंस्थाहरुले प्रतिस्पर्धाकै झल्को दिने गरी तीज कार्यक्रमको आयोजना गर्ने गरेको पाईन्छ । हामी बसेको समाजमा रहेका प्रायजसो संघसंस्थाहरुले एकै अवसरमा, एकै प्रकृतिका कार्यक्रमहरुको आयोजना गर्ने गरेको देखिन्छ । समाजको हितमा केन्द्रित आफ्नै मौलिक र सिर्जनात्मक कार्यक्रम डेलिभरि गर्न उनीहरु चुकिरहेका देखिन्छन् । देखासिकी प्रकृतिका कार्यक्रमहरु मात्र उनीहरुको प्राथमिकतामा पर्ने गरेको पाईन्छ । यसबाट हामीले समाजलाई र हुर्कदों पुस्तालाई दिन खोजेको सन्देश के ? यसबारेमा सार्थक बहस हुनु जरुरी देखिन्छ । पर्वका नाममा बढ्दो विकृति र विसंगति हुन नदिई चाडपर्वहरुलाई आफ्नै मौलिकतामा स्वच्छ र स्वस्थ राख्न आवश्यक छ । यस दिशामा खासगरी समाजका जिम्मेवार अगुवाहरुको ध्यान जानुपर्दछ ।

तीज मनाउने सँस्कृतिमा विकृतिको घुसपैठ हुन थालेको धेरै भईसकेको छ तथापि हामी चुपचाप नियालीरहेका छौं, जब स्थिति नियन्त्रण भन्दा बाहिर पुग्दछ अनि हामीले चाहेर पनि केही गर्न सक्दैनौं । त्यसो भएको हुनाले समयमै सचेत भई आ-आफ्नो ठाउँबाट यथासंभवका पहलकदमी थालिनुपर्दछ । देखावटी तडक-भडक, तामझाम र भड्किलो बन्दै गईरहेको तीज पर्व यहिरुपमा अगाडि जाने हो भने हुनेखाने र हुँदाखाने बीचको खाडल झन झन ठूलो हुँदै जाने हुँदा समाजमा विकराल समस्याहरु उत्पन्न हुन सक्छन् । पचाउन सक्ने र हैसियतभन्दा बाहिरको क्रियाकलाप नेपाली समाजले अपेक्षा गरेको छैन । ब्यक्तिगत जीवन स्वतन्त्ररुपले जिउन सबैलाई छूट छ तर तीजका नाममा समाजमा नकारात्मक तरंग पैदा गर्ने खालका क्रियाकलाप वर्षेनि बढ्दै जानुले हामी कता जाँदै छौं भन्ने पूर्वसंकेत गर्दछ । त्यसैले आफ्नै मौलिकताले भरिपूर्ण तीज पर्वभित्रको अर्गानिक स्वादलाई कायमै राख्न एकचोटी हामी सबैले सोच्ने हो कि ?

सँस्कृतिलाई देखासिकी एवं भड्किलो होईन समय सान्दर्भिक र व्यवहारिकतामा आधारित भएर मनाऔं । यसो गर्‍यौ भने मात्र हामीले सँस्कृतिको सहिरुपमा जगेर्ना गर्न सक्छौं । समय धेरै अगाडि बढिसकेको अवस्थामा अब नारीका लागि मनभरिको बह पोख्न तीजै कुरिराख्नुपर्ने बाध्यता रहेन । छोरी चेलीबेटीका लागि मीठो मसिनो खान माइतीमै पुग्नैपर्ने आवश्यकता पनि छैन । त्यसैले युगौदेखि सामाजिक सद्भावलाई कायम राख्दै आएका यसप्रकारका धरोहर पर्वहरुलाई सम्मानपूर्वक छिटो, छरितो र शालिन ढंगले मनाऔं, आधुनिकताको नाममा बिकृत र बिसंगतिपूर्ण हुनबाट बचाऔं ।***

तपाईको प्रतिक्रिया