बिहिबार, जेठ १७, २०८१
Thursday, May 30, 2024

टोकियो – जापानको टोकियोस्थित तोयोसु पिट हलमा सबैभन्दा पहिलो आवाज मादलको थियो- ‘घिनिनिनी तिनिनिनी तिनिनिनी घिनिनिनी ।’ यो पूर्वी नेपालबाट संकलित हाक्पारेमा आधारित एउटा गीतको ताल थियो। लगत्तै किबोर्ड, गितार र ड्रमसेटको उच्च आवाजकै बीच गायक अमृत गुरुङले गाउन सुरु गरे-

‘कोसीको पानी यो जिन्दगानी सललल जाई जाने हौ हजुर
आमाको कोखमा बासमात्रै लिएँ नि कुन देशको मरन हौ हजुर’

यसरी स्वदेश सम्झाउने गीतको भाव र रक कन्सर्टको उच्च तरंगले जापानको राजधानीमा तीन हजारभन्दा बढी दर्शकमाझ प्रारम्भबाटै हलचल मच्चिएको थियो । त्यो क्रमलाई ‘भेडाको ऊन जस्तो’ ले झनै तीव्रता दियो । त्यसपछि आफ्नो सर्वकालीन हिट गीत ‘छेक्यो छेक्यो’ गाउन्जेल ब्यान्डले माहोलमा पूर्णतया कब्जा जमाइसकेको देखिन्थ्यो ।त्यसपछि अमृतले एकैछिन दर्शकसँग संवाद गर्न चाहे । ‘यो तीन दशकभन्दा लामो यात्रामा तपाईँहरूको नेपथ्य ब्यान्डले धेरै अनुभव पनि बोकेको छ,’ उनले विगत सम्झँदै भने, ‘यो टोकियो भूमिमै हाम्रो समूहका साथीहरूबीच सांगीतिकदेखि लिएर मिलन बिछोडसम्मका अनेक यादहरू छन् ।’ यसरी ब्यान्डका पुराना सदस्यहरूलाई एकपटक सम्झेर भावुक भएपछि लगत्तै अमृतले नेपथ्यकै सबैभन्दा पहिलो गीत सुनाए–

‘आँगनैभरि हिउँ नै झरे, आरु फूल टिपी राखे है’ 

अमृतले यो गीत गाइरहँदा मञ्चको पृष्ठ भागमा नेपथ्यका स्थापनाकालीन दिनहरूको तस्बिर देखाइएको थियो । कार्यक्रममा अध्ययन, रोजगारी वा बसोबासका निम्ति गएका नेपालीहरूको उपस्थितिसँगै केही जापानी अनुहार पनि देखिन्थे । तिनैमध्ये टोकियोमै रेस्टुरेन्ट व्यवसाय चलाउँदै आएका नारुओ पनि थिए । ‘मैले एउटा बेग्लै र गजबको सांगीतिक साँझ अनुभूति गरेँ,’ नारुओ भन्दै थिए, ‘शब्द बुझ्न नसके तापनि त्यसका भाव र संकेतहरू ठम्याउँदै रमाउन सकिने संगीत थियो ।’ उनले कन्सर्ट अवधिभर आफूलाई समुद्रका छालहरूसँगै बगिरहेको जस्तो महसुस भएको पनि सुनाए । नेपाल पुगेका एक साथीले दिएको सुझावका आधारमा यो कन्सर्ट हेर्न आएको बताउने नारुओले आजसम्म आफू भने त्यो मुलुक घुम्न नपाए पनि यो कन्सर्ट हेरेपछि आफूमा घुम्न जाने रहर जागेको बताए ।कार्यक्रमको मध्यतिर ‘यो जिन्दगानी’ गीत सुनाउनु अघि अमृत फेरि बोल्न तम्सिए । त्यतिबेला उनले सांगीतिक मात्र नभई सामाजिक भूमिकामा पनि आफूलाई प्रस्तुत गर्दै आएको नेपथ्यकाबारे व्याख्या गरे । ‘समाजले बेहोर्नु परेका अनेक चुनौतीहरूकै क्षण हामीले आफ्नो भूमिका पनि फराकिलो पार्दै आएका छौं,’ उनले भने, ‘बालबालिका, शिक्षण संस्था, द्वन्द्वकालीन समाजका लागि समर्पित हुँदै आएका हामीले पछिल्लो समय भने मानवताका पक्षमा आफूलाई उभ्याएका छौं ।’ बितेको एक वर्षदेखि मानव सेवा आश्रमसँग मिलेर ‘मानवताका लागि संगीत’ अभियान सुरु भएकोमा अहिले जापानको यात्रा पनि त्यसैको निरन्तरता रहेको उनले स्पष्ट पारे ।

‘नेपालमा हिजोआज सडकमा आश्रित मानिसहरूको संख्यामा निकै कमी आएको छ,’ अमृतले भने, ‘जसका कोही हुँदैनन् उसैको पक्षमा उभिँदै हामी पनि तपाईँहरूसम्म आइपुगेका छौं ।’

स्थानीय समयअनुसार बेलुकीको ठिक साढे छ बजे सुरु भएको कन्सर्ट सोह्रवटा गीत र दुइटा म्युजिक भिडियो देखाएर दुई घन्टाभन्दा बढी अवधि चलेको थियो । सधैंझैं अन्तिम लहरतिर प्रस्तुत हुने क्रमशः ‘मै नाचे छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुँदै अन्तिममा ‘रातो र चन्द्रसूर्ये’ सम्म आइपुग्दा हलभरि जताततै दर्शकहरू नृत्य गरिरहेका देखिन्थे। ‘टोकियोमा सप्ताहान्त बाहेकका दिन दर्शक जुटाउनै मुस्किल होला भन्ने लागिरहेको बेला मंगलबार आयोजित कार्यक्रम पनि भव्य र सभ्यरूपमा सम्पन्न भयो,’ स्थानीय आयोजक टोलीका सुभास लामिछानेको प्रतिक्रिया थियो, ‘यो उपस्थिति देखेर सबै अचम्म मानिरहेका छौं ।’सुभासका अनुसार कन्सर्ट हेर्नका लागि परको जापानी सहर होकाइडो मात्र नभई दक्षिण कोरियादेखि आएका दर्शकहरू पनि देखिन्थे । सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो । पछिल्लोपटक भने पाँच वर्षअघि त्यहाँको प्रसिद्ध टोकियो डोममा ब्यान्डले लोकरक सुनाएको थियो । मंगलबार बेलुकीको कार्यक्रममा अमृतलाई ध्रुव लामा (ड्रमसेट), सुरज थापा (किबोर्ड), सुबिन शाक्य (बेस गितार), निरज गुरुङ (गितार) र शान्ति रायमाझी (मादल) ले सघाएका थिए ।

यसअघि जापानको तीनवटा सहरमा श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्ने योजना अनुरुप दुई दिनअघि यहाँ आइपुगेको १४ सदस्यीय नेपथ्य टोलीलाई नारिता विमानस्थलमा स्थानीय आयोजकहरूले स्वागत गरेका थिए । टोकियो कन्सर्ट सम्पन्न भएसँगै आगामी प्रस्तुति फुकुओका सहरमा हुनेछ । १२ अगस्तका दिन त्यहाँस्थित ‘फुकुओका सिभिल हल’मा नेपथ्य गुञ्जने छ ।

तपाईको प्रतिक्रिया