Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – एभरेष्ट इन्टरनेशनल स्कुल जापानको ब्यवस्थापन समितिको अध्यक्षमा पुनः भवन भट्ट चयन भएका छन् । स्कुलको प्रोमोटरहरुको शनिबार सम्पन्न छैठौं अधिवेशनले भट्टलाई दोस्रो चोटी अध्यक्षको जिम्मेवारी सुम्पेका हुन् ।

आगामी दुई वर्षको कार्यकालका लागि नवगठित ब्यवस्थापन समितिको अन्य सदस्यहरुमा भूषण घिमिरे, डा. बलाराम श्रेष्ठ, ओम गुरुङ, कमलचन्द्र आचार्य, हवलचन्द्र लामा, सगुन थापा, केशव थापा र कपिलदेव थापा चयन भएका छन् । नवगठित ब्यवस्थापन समितिलाई नयाँ कार्यकारी बोर्डको गठन गर्ने, योगदान, क्षमता र समावेशिताको आधारमा सल्लाहकारहरुको चयन र आवश्यकता अनुसार सदस्यहरु थप गर्ने म्याण्डेट पनि अधिवेशनले प्रदान गरेको छ ।
यसैगरी अधिवेशनले भूषण घिमिरे, रोशन केसी र ओम गुरुङ रहेको विद्यालयको आन्तरिक लेखा परिचालन समिति पनि गठन गरेको छ ।

एभरेष्ट इन्टरनेशनल स्कुल जापान हालसम्म नेपाल एजुकेशन सेन्टरको मातहतमा रही एनपिओ मोडेलमा सञ्चालन हुँदै आएकोमा अबउप्रान्त बिजनेश मोडेलमा सञ्चालन गर्ने योजनाअनुसार इआइएसजे कर्पोरेशन (कम्पनी) को तत्वावधानमा सञ्चालन हुने भएको छ । नेपाल एजुकेशन सेन्टर जापानले अब स्कुल सञ्चालनको जिम्मा इआइएसजे कर्पोरेशन (कम्पनी) लाई दिने भएको हो । जसअनुसार उक्त स्कुल सञ्चालन लगायत अन्य ब्यवसायिक गतिविधि सञ्चालन गर्न कम्पनीको कार्यकारी बोर्डमा फुजियो खाजुतोको संयोजकत्वमा मेघराज नेपाल, डा. भूपालमान श्रेष्ठ, दिपक सुबेदी र बिशेश्वर रेग्मी चयन भएका छन् ।

एभरेष्ट इन्टरनेशनल स्कुल भवनको सभाहलमा भएको अधिवेशनको सभाध्यक्ष भट्ट र पूर्व अध्यक्ष डा. भूपालमान श्रेष्ठले दीप प्रज्वलन गरी उदघाटन गरेका थिए भने ब्यवस्थापन समिति कार्यकारी बोर्डका सदस्य भूषण घिमिरेको स्वागत भाषण रहेको थियो ।
अधिवेशन समारोहमा प्रिन्सिपल बिष्णुप्रसाद भट्ट र भाइस प्रिन्सिपल राजेन्द्र तामाङले एक्याडेमिक कार्यप्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने ब्यवस्थापन समितिका उपाध्यक्ष मेघराज नेपाल र स्कुलका लेखा संयोजक राजकुमार पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिबेदनहरुमाथि आवश्यक छलफल गरी प्राप्त भएका सुझाव सल्लाहलाई समेट्दै सभाद्वारा दुबै प्रतिबेदनलाई पारित गरिएको थियो ।

समारोहमा प्रोमोटरहरुको प्रतिनिधित्व गर्दै सुजाता श्रेष्ठ, सञ्चालक समितिको प्रतिनिधित्व गर्दै ओम गुरुङ, कार्यकारी बोर्डका तर्फबाट पूर्वअध्यक्ष डा. श्रेष्ठ, सल्लाहकारहरुका तर्फबाट महेशकुमार श्रेष्ठ र किरणविक्रम थापाले आ-आफ्नो धारणा राखेका थिए । बोल्ने वक्ताहरुले समयक्रमसंगै स्कुलको दायरा र जिम्मेवारी फराकिलो हुँदै गएको र सोहीअनुरुप चुनौतीहरु पनि थपिएकोले प्रतिबध्द भएर लाग्नुपर्ने बताएका थिए ।

समारोहमा एनआरएनए जापानको हालैमा सम्पन्न एघारौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित एभरेष्ट ईन्टरनेशनल स्कुलका संस्थापक प्रोमोटर नविन निउरेलाई स्कुलका तर्फबाट अध्यक्ष भट्टले हार्दिक बधाई ज्ञापन गर्नुका साथै कार्यकाल सफलताको कामना गरेका थिए ।  समारोहमा सहभागी प्रोमोटर, सञ्चालक समितिका पदाधिकारी, सदस्य, सल्लाहकार, नवगठित सञ्चालक समिति तथा कार्यकारी बोर्ड समितिका सबैलाई स्कुलको तर्फबाट मायाको चिनो पनि प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्तमा सभाध्यक्ष भट्टले विगत दुई बर्षको कार्यकाल सफल पार्न सहयोग गर्ने सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्दै आगामी समयमा पनि सोहिअनुरुपको साथ, सहयोग र समर्थनको अपेक्षा गर्दै समारोहको समापन गरेका थिए । कार्यक्रममा ब्यवस्थापन समिति कार्यकारी बोर्डका सदस्य  कमलचन्द्र आचार्यको सन्चालन रहेको थियो ।

एभरेष्ट इन्टरनेशनल स्कुलले अब फ्रेञ्चायज मोडलमा किन्डरगार्टेन वा अन्य तहका शाखाहरु जापानका अन्य संभावित सहरहरुमा पनि बिस्तार गर्ने नीति अगाडि सारेको छ । जसका लागि कार्यविधि तयार गरी कार्यान्वयनमा लैजाने म्यान्डेट पनि अधिवेशनले प्रदान गरेको छ ।

नर्सरीदेखि कक्षा १२ सम्म पढाई हुने एभरेष्ट स्कुलमा करीव ४ सय जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा हाल म्यानेजमेन्ट र साइन्स बिषयको पढाई भईरहेको छ । एभरेष्ट स्कुलमा शिक्षक-शिक्षिका, अतिरिक्त क्रियाकलापका लागि स्पोर्ट टिचर, डान्स टिचर, योगा टिचर, जापानी भाषा कक्षा टिचर, सरसफाई सहयोगी, प्रशासनिक कर्मचारी, अनलाइन क्लास टिचर गरी ५७ जना पूर्णकालिन तथा आंशिक कर्मचारीहरु कार्यरत छन् ।

नर्सरी, एलकेजी र युकेजी गरी ७८ जना साना बच्चाहरु शिनओकुबोको एभरेष्ट किड्समा र कक्षा १ देखि १२ सम्म सुगिनामी कु को ओगिकुबोमा रहेको आफ्नै भवनमा पढाई सञ्चालन हुँदै आईरहेकोमा बढ्दो विद्यार्थी संख्याको चापलाई ध्यानमा राख्दै कक्षा १, २ र ३ का लागि अब आशागायामा ब्यवस्थापन गरिने भएको छ । जसअनुसार घर भाडामा लिईसकिएको र छिट्टै आन्तरिक सेटिङको काम सम्पन्न गरिने बताईएको छ । फोटो सौजन्य- एभरेष्ट इन्टरनेशनल स्कुल, जपान ***

तपाईको प्रतिक्रिया