Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – वैदेशिक रोजगारीका लागि आकर्षक गन्तब्य मानिएको जापानको श्रमबजारमा नेपालीहरुको छबि राम्रो मानिन्छ । जसका कारण अपवाद बाहेक जापानीहरुको रोजाईमा नेपालीहरु पर्ने गरेकाछन् । उनीहरुको बुझाईमा नेपालीहरु साह्रै मिहेनती, ईमान्दार र आफ्नो जिम्मेवारीप्रति सचेत छन् भन्ने विश्वास रहिआएको छ । यस सन्दर्भमा टोकियोमा रहेको के लाइन ग्रुप कम्पनीलाई उदाहरणकारुपमा लिन सकिन्छ । उक्त कम्पनीमा हाल रेगुलर र पार्ट टाइमर गरी ४ सय भन्दा बढि नेपालीहरु कार्यरत छन् । उसो त उक्त कम्पनीमा अन्य देशका विदेशी कर्मचारीहरु पनि छन् तर ज्यादै नगण्य संख्यामा छन् । खाद्य प्रशोधन तथा मानवीय संशाधनलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाएको उक्त कम्पनीले लामो समयदेखि यति धेरै नेपालीहरुलाई रोजगार दिनुको पछाडि कम्पनी प्रमुख सहित कम्पनीका अन्य जिम्मेवार अधिकारीहरु र त्यहाँ कार्यरत नेपालीहरुको प्रतिनिधिमुलक अनुभव यस्तो छः –

फुताकुची मासाकाजु, कम्पनी प्रमुख – नेपालीहरु शान्त स्वभावका, मिहिनेती र इमान्दार हुन्छन् । उनीहरु आपसमा मिलेर काम गर्ने र सहयोगी भावनाको हुने भएकोले पुरानाले नयाँलाई काम सिकाउने अनुकरणीय सँस्कार प्रमुख विशेषता मानिन्छ । सुरुका दिनहरुमा हामीसंग ब्राजिलियनहरु पनि थिए तर उनीहरु आफ्नो देशको स्थितिमा सुधार आएसंगै सबै फर्केर गए । भियतनामीहरुमा पनि त्यो स्थिति छिट्टै नआउला भन्न सकिन्न । यस मानेमा नेपालीहरुमा रहेको धैर्यता एवं लगनशिलता अर्को सकारात्मक पक्ष हो । हामीले ट्राभलको काम बिस्तार गरेसंगै अब तोकुतेइ गिनोउ (एस. एस. डब्लु) को काम पनि तिब्रताका साथ अगाडि बढाउन लागेका छौं । त्यसका लागि संभवत नेपालमा छिट्टै सम्पर्क कार्यालय खोल्ने छौं । किनभने अब जापानमा काम गर्ने उमेरसमुहका युवाहरुको संख्या घट्दोक्रममा रहेकोले जापानले विदेशी कामदार नभित्र्याई सुखै छैन, त्यसो भएको हुनाले नेपालीहरु हाम्रो प्राथमिकतामा परेका हुन् । किन कि हामी विगत १३, १४ वर्षदेखि नेपालीहरुसंग संगै काम गरेर अभ्यस्त भईसकेका छौं । उनीहरुप्रति हाम्रो विश्वास छ, आत्मियता छ ।

उचिदा जुन-इची, कम्पनी म्यानेजर – अन्य मुलुकका विदेशीको तुलनामा नेपालीहरु काममा आफ्नो जिम्मेवारीप्रति बफादार छन् । उनीहरुले कम्पनीको बिश्वास जितेका छन् । उनीहरुको काम र ब्यवहारले गर्दा नै उनीहरुप्रति कम्पनीको भरोसा जागेको हो । नेपाली कर्मचारीहरुले हाल उनीहरुसंग भएको जापानी भाषाको लेभल क्रमशः अपग्रेड गर्दै अगाडि बढ्न सुझाव दिन चाहान्छु । जसका कारण आफ्नो कार्यक्षेत्रमा अहिलेभन्दा अझ बढि राम्रो गर्न सकून् र नेपाल फर्केपछि पनि राम्रो प्रगति गरेर सफल बन्न सकून् भन्ने हाम्रो शुभेच्छा हो ।

यासुतोमु काजुनोरी, कम्पनी म्यानेजर – नेपालीहरु कामप्रति लगनशील हुने भएकोले उनीहरुलाई कम्पनीले रुचाएको हो । उनीहरुले नजानेको नबुझेको बिषयमा सिनियरहरुसंग आफ्नै नेपाली भाषामा सोध्न र सिक्न पाईने पारिवारिक वातावरण भएकोले काम गर्न थप सहज भएको छ । जसका कारण दुबैपक्षले कुनै जोखिम मोल्न नपर्ने गरी सुरक्षित महशुस गराएको छ, यो अर्को सकारात्मक पक्ष हो ।

निराजन थपलिया, सिनियर नेपाली स्टाफ – म यस कम्पनीको पहिलो नेपाली स्टाफ हुँ । म यहाँ विगत १३ वर्षदेखि कार्यरत छु । कम्पनीले विश्वास गरेर यतिधेरै नेपालीहरुलाई रोजगारी दिनुको पछाडि हामी सुरुवाती चरणमा कम्पनी प्रवेश गरेका पहिलो लटका नेपालीहरुले राम्रो पर्फेन्स देखाएको कारणले नै हो । अरु सहायक कारणहरु पनि होलान् तर पहिलो कारण भनेको विश्वास दिलाउन सकेकैले कम्पनीको प्राथमिकतामा नेपालीहरु पर्ने गरेका हुन् । नेपालीहरु खराब नियत नराखीकन अरुभन्दा राम्रो र इमान्दारपूर्वक काम गर्न सक्छन्, उनीहरु आफ्नो कर्त्तब्यप्रति पूरै लगनशील र जेहेन्दार हुन्छन् भन्ने कम्पनीको बुझाई रहेको छ । त्यो इमेज हामीले नै बनाएका हौं । जसका कारण भरखर जापान आएकाहरुका लागि पनि कम्पनीमा सहजरुपमा काम गर्न सक्ने वातावरण छ । नेपालबाट आउँदै गरेका वा भरखर जापान आएका नयाँ विद्यार्थी भाइबहिनीहरुलाई के भन्न चाहान्छु भने जापान आईसकेपछि गर्नुपर्ने पहिलो काम भनेको भाषा राम्रो बनाउनु हो । भाषा राम्रो बनायो भने भविष्य त्यसैमा छ, राम्रा राम्रा अवसरले आफै पछ्याउन थाल्छन, संभावनाका बाटाहरु फराकिला हुँदै जान्छन् र काम गर्न पनि सहज हुन्छ । तर भाषा बनाउने बेलामा पैसाको पछि कुद्नुभयो भने स्वास्थ्य, दैनिक जीवनको उचित ब्यवस्थापन लगायतका थुप्रै राम्रा कुराहरु छुट्न सक्छन्, अवसरका ढोकाहरु साँगुरिन पुग्छन र काम पाईहालियो भने पनि तल्लो स्तरको काम गर्नुपर्ने हुन सक्छ ।

रमिता लामा, नेपाली स्टाफ – म विगत ८ वर्षदेखि यस कम्पनीमा कार्यरत छु । यस कम्पनीमा काम गर्न शुरु शुरुमा केहि गाह्रो त भयो नै । बिस्तारै बानी पर्दै गईसकेपछि सबै ठीक हुँदै आयो । अब त सिष्टम बसिसकेकोले पछि आउनेहरुका लागि धेरै सहज भईसकेको छ । यो त नेपालीहरुको कम्पनी जस्तै हो । केहि गर्छु भनेर जापान आउनेहरुका लागि जापानमा अवसरै अवसर छ । मेरो विचारमा जापान आईसकेपछि शुरुका केहि वर्ष कमाईमा भन्दा आफ्नो करियर बनाउनमा जोड दिनुपर्छ । शुरुमै कमाईको लोभ गर्ने हो भने जापानको बाँकी दिनहरु कष्टकर हुँदै जानेमा शंका छैन । त्यसकारण नेपालबाट आउँदै गरेका नयाँ विद्यार्थी भाइबहिनीहरुले कमाईमा भन्दा पढाईमा फोकस गर्न आग्रह गर्न चाहान्छु । र जापानमा हामी नेपालीहरुले सिक्नैपर्ने अर्को महत्वपूर्ण बिषय भनेको अनुशासन हो । हरेक नागरिक अनुशासित हुने हो भने आधा समस्या आफै सल्टिएर जान्छन् जस्तो लाग्छ, चाहे त्यो परिवारमा होस् वा कम्पनीमा या राष्ट्रमै ।

चन्द्र थकाली, नेपाली स्टाफ – यस कम्पनीमा म विगत ८ वर्षदेखि स्थायी कर्मचारीकारुपमा कार्यरत छु । जापानको सेम्मोन वा युनिभर्सिटीको पढाई सकेकाहरुका लागि नयाँ रोजगारी, पढ्दै गरेका विद्यार्थीहरुका लागि र परिवारका आश्रति सदस्यहरुका लागि पार्ट टाइम जस्ता कामका लागि यस कम्पनीमा राम्रो अवसर छ । टोकियो, ताचिकावा, सागामीहारा, नागोया लगायतका सिटीमा यस कम्पनीको शाखा कार्यालयहरु बिस्तार भईसकेका छन् । यदि कामको खोजीमा हुनुहुन्छ भने आफुलाई पायक पर्ने ठाउँमा सम्पर्क गर्न सक्नुहुन्छ । एक जना भएपनि नेपालीले एउटा स्थापित कम्पनीमा सुरक्षित जागीर पाओस् भन्ने हाम्रो पनि ध्येय हो । केवल जागीर मात्र नभएर यहाँ कामसंगै जीवनमा काम लाग्ने धेरै ब्यवहारिक ज्ञानका कुराहरु सिक्दै आफुलाई एक परिपक्व र जिम्मेवार नागरिक तयार गर्न सकिन्छ, यो हामी आफैले गरेको अनुभव हो ।

अञ्जना अधिकारी, नेपाली स्टाफ – म यस कम्पनीमा विगत ७ वर्षदेखि काम गर्दै आईरहेकी छु । मलाई त के लाग्छ भने यति ठूलो संख्याका नेपालीहरुलाई रोजगारी दिएकोमा कम्पनीप्रति आभार ब्यक्त गर्न चाहान्छु । साँच्चिकै भन्नुपर्दा कम्पनीप्रति गुनासो गर्ने कुनै ठाउँ छैन । कम्पनीमा काम गर्ने वातावरण राम्रो भएकै कारण यहाँ लामो समयदेखि कार्यरत नेपालीहरुको संख्या पनि क्रमशः बढ्दोक्रममा रहेको छ । हामीले पनि राम्रो पर्फेन्स देखाउन सक्यौं भने अब आउने पिढींका लागि पनि राम्रो हुने हो ।

सञ्जिता सापकोटा, नेपाली स्टाफ – म यस कम्पनीमा काम गर्न थालेको १ वर्ष भयो । यहाँ सिनियर स्टाफहरु सबैजना सहयोगी भावनाको हुनुहुन्छ । जसले गर्दा हामीले पनि सिनियरहरुको पदचाप पछ्याउँदै अगाडि बढ्न सहज भएको छ । काम गर्नका लागि यहाँ वातावरण धेरै राम्रो छ । भरखर पढाई सकेका वा सकिन लागेका विद्यार्थीहरु कामको खोजीमा हुनुहुन्छ भने हाम्रो कम्पनीमा स्वागत छ, आउनुहोस्, सबैजना मिलेर संगै गाम्बात्ते गरौं भन्न चाहान्छु । (सौजन्य: नेपाली समाचार)

(प्रस्तोताः तिलक मल्ल)

तपाईको प्रतिक्रिया