काठमाडौँ – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज विहान पद तथा गोपनीयताको सपथ लिने तयारी गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार आज बिहान साढे १० बजे सपथको समय तोकिएको जनाइएको छ । थापालाई प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ती गरेका थिए । सभामुख बाबुराम गौतमले राजीनामा गरेपछि गठबन्धन दलभित्रको माओवादी केन्द्रको सांसद संख्या १३ पुग्दा ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या ४७ पुर्याएर थापाले दाबी पेश गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनी कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । थापाले पहिलो चरणमा गठबन्धन दलहरूमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक एकजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । गठबन्धनमा नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सिट रहेको छ ।
नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राईले भने अघिल्लो पटक उद्धव थापाकै नेतृत्वको सरकारमा पठाइएका कमल प्रसाद गवेगुलाई यसपटक पनि सरकारमा पठाउने तयारी रहेको जानकारी दिए । कांग्रेस र माओवादी केन्द्रले मन्त्रीको नाममा छलफल गरिरहेको जनाइएको छ ।
गठबन्धनमा रहेको जनता समाजवादीले भने अहिले नै सरकारमा नजाने रणनीतिमा रहेको जनाइएको छ ।