Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – तनहुँको व्यास नगरपालिका-१३ निवासी फूलमाया विकको घर वर्षाैंदेखि खरले छाएको थियो । ढुंगामाटोले बनेको घर र छानो खरको हुँदा वर्षायाममा पानी चुहिने समस्या उत्तिकै थियो । अझ आगलागीको जोखिम पनि त्यत्तिकै थियो ।

उनको घरको छानो अहिले खरले नभई जस्तापाताले छाइएको छ । व्यास नगरपालिकाको खरको छानो विस्थापन योजनाअनुसार छानो फेरिएको हो । उनले भनिन्, ‘अब आगलागी हुने जोखिम र पानी चुहिने समस्या हुँदैन ।’

नगरपालिकाले खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । जस्तापाताले घर छाउन नसकेका परिवारलाई नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा ६८ अतिविपन्न परिवारको घरमा जस्तापाताले छाउने कार्यक्रम सम्पन्न गरेको नगरपालिकाको घर नक्सा शाखाका प्रमुख अमृत केसीले जानकारी दिए ।

५१ लाख रुपैयाँको लागतमा जस्तापाता लगाइएको छ । नगरपालिकाले प्रतिघर ७५ हजारमा छानो फेरिदिएको छ । तनहँु क्षेत्र नम्बर १ अन्तर्गत नगरपालिकाले वडा नम्बर ५ र ६ बाहेक अन्य वडामा खरको छाना विस्थापित गरी घरमा जस्तापाता लगाउने गरेको छ । जसअन्तर्गत व्यास–१ मा ७, व्यास–४ मा १, व्यास–७ मा ७, व्यास–८ मा ३, व्यास–९ मा ४, व्यास–१० मा १७, व्यास–११ मा ३, व्यास–१२ मा ६, व्यास–१३ मा ३ र व्यास–१४ मा ८ घरमा जस्तापाता लगाएको छ ।

नगरपालिकाले विपन्न वर्गले पक्की घर बनाउँदा निःशुल्क रूपमा नक्सा निर्माण गरिदिन थालेको छ । नगरपालिकाको घर नक्सा निर्माण शाखाले नागरिकको आर्थिक समस्यालाई मध्यनजर गर्दै विपन्न वर्गलाई नक्सा पास निःशुल्क गर्ने कामको शुरूआत गरेको हो । विपन्न वर्गलाई केही सहज बनाउन र पक्की घर बनाउनेतर्फ आकर्षित गर्ने उद्देश्यले घर बनाउँदा निःशुल्करूपमा नक्सा निर्माण गर्ने गरेको शाखाका सहायक इन्जिनीयर सञ्जय तिमिल्सेनाले जानकारी दिए ।

निःशुल्क नक्सा कार्यक्रमअन्तर्गत वडामार्फत विपन्न वर्गले घर बनाउन सिफारिस लिएर आएको खण्डमा निःशुल्क रूपमा नक्सा निर्माण गर्ने गरेको उनको भनाइ छ । अहिलेसम्म कार्यक्रममार्फत ५ जनाले निःशुल्क रूपमा घरको नक्सापास गरी घर निर्माण गरेको उनले जानकारी दिए ।

उनले भने, ‘वडामार्फत विपन्न वर्गले सिफारिस लिएर आएपछि हामीले उहाँहरूले चाहेको अनुसार नक्सा निःशुल्क रूपमा बनाउने गरेका छौं ।’ २, ३ र ४ कोठे घरका लागि विभिन्न ८ वटा ‘मोडल’ रहेको उनले बताए ।

कतिपय नागरिकहरूले नक्सा बनाउन खर्च धेरै भएका कारण कच्ची घरमै बस्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि पनि नगरपालिकाले नक्सा निर्माण निःशुल्क गरिदिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले विभिन्न परामर्शदाताले महंगो शुल्कमा घरको ‘डिजाइन’ बनाइदिने गुनासोलाई सम्बोधन गर्दै नगरपालिकाले विपन्न वर्गको घरको नक्सा डिजाइन गरिदिने बताए । नगरपालिकाका घर नक्सा शाखाका प्रमुख अमित केसीले घरको नक्सा निर्माणका लागि प्राविधिकलाई खटाएको बताए । -रासस

तपाईको प्रतिक्रिया