शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – शृंखलाबद्ध कन्सर्ट प्रस्तुतिका लागि लोकरक ब्यान्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्ने भएको छ । राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चहरूमा आफूलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली यही अगस्तको पहिलो साता त्यसतर्फ प्रस्थान गर्दै छ ।

नेपथ्यले टोकियोस्थित ‘तोयोसु पिट’मा अगस्ट ८ तारिखका दिन प्रस्तुति दिनेछ । त्यसैगरी ब्यान्डले अगस्त १२ तारिखका दिन ‘फुकुओका सिभिल हल’ र अन्तिममा अगस्त १७ तारिखका दिन ओसाकास्थित ‘नाम्बा ह्याच’मा नेपाली लोकरक गुञ्जाउनेछ । सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो । पछिल्लोपटक ब्यान्डले आफूलाई सन् २०१८ मा त्यहाँस्थित प्रसिद्ध ‘टोकियो डोम’मा प्रस्तुत गरेको थियो ।

सन् २०१५ मा विनाशकारी भूकम्पलगत्तै जापान पुगेको वेला त्यहाँस्थित अग्रणी टेलिभिजन कम्पनी एनएचकेले अमृतको अन्तर्वार्तासहित नेपाल र नेपथ्यलाई चिनाउने गरी झन्डै १५ मिनेट लामो भिडियो रिपोर्ट प्रस्तुत गरेको थियो । कियोस्का साईले तयार पारेको त्यो भिडियोको छोटो अंश एनएचकेको सर्वाधिक महत्वको मानिने ‘प्राइम टाइम न्युज’मै देखाइएको थियो । त्यो यात्रालाई नेपथ्यले भूकम्पपीडितलाई राहतको निम्ति जनचेतना फैलाउने मञ्चका रूपमा प्रयोग गरेको थियो भने त्यसबाट ब्यान्डले गरेको आर्थिक आर्जन प्रधानमन्त्री राहत कोषमा बुझाएको थियो ।

जापानमा शृंखलाबद्ध कन्सर्टका लागि टिकट बुकिङ खुला भइसकेको छ । यससम्बन्धी विस्तृत जानकारी नेपथ्यकाे वेबसाईटबाट प्राप्त गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया