Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – आठ हजार मिटरमाथिका १४ वटा हिमाल आरोहण अभियानमा रहेकी आरोही एवम् फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के-टुको सफल आरोहण गरेकी छन् ।

उनले बिहीबार मध्यान्ह विश्वकै दोस्रो अग्लो शिखर चुम्न सफल भएको जानकारी दिएकी छन् । ८,६११ मिटर अग्लो माउन्ट के-टुको सफल आरोहणपछि उनी अहिले बेसक्याम्पतर्फ फिर्ता भइरहेकी छन् । पूर्णिमाले आफ्नो सफल आरोहणका लागि सहयोगी र शुभेच्छुकलाई धन्यवाद पनि दिएकी छन् । पूर्णिमा एटके एक्सपिडिसन्सबाट अन्य सहयोगीसहित माउन्ट के-टु चढ्न पाकिस्तान पुगेकी थिइन् ।

यसअघि उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन् । उनी ८ हजार ६११ मिटर उचाइको के-टुको आरोहणका लागि गत जेठ २४ गते पाकिस्तान गएकी थिइन् । उनी इस्लामाबाद हुँदै विश्वको दोस्रो सर्वोच्च हिमाल के-टु चढ्न पुगेकी थिइन् । के-टु आरोहणका लागि जोखिमयुक्त भएकाले किलर माउन्टेनको उपमा दिइएको छ ।

यसअघि के-टुको चुचुरोमा तीन नेपाली महिला पुगेका थिए । पूर्णिमाले शिखर चुमेसँगै आरोहण गर्ने नेपाली महिलाको संख्या ४ पुगेको छ । पूर्णिमाले पहिलो पटक ८ हजार मिटरको हिमाल यात्रा गृह जिल्ला गोरखास्थित मनास्लुबाट सुरू गरेकी थिइन् ।

२०७४ मा मनास्लुको सफल आरोहण गरेकी उनी २०७५ मा सगरमाथाको शिखरमा पुगिन् । त्यसपछि अन्नपूर्ण र धौलागिरि आरोहण गरिन् । उनी अन्नपूर्ण र धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि भइन् । विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये नेपालमा ८ वटा छन् । तीमध्ये चोयु तिब्बतबाट चढ्नु पर्छ । भौगोलिक जटिलता र विविध कारण नेपालबाट चोयु आरोहण अनुमति खुलाइएको छैन । माउन्ट के-टु पनि आरोहण गरेपछि पूर्णिमाले चोयु आरोहण गर्ने योजना बनाएकी छन् ।

तपाईको प्रतिक्रिया