Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

जापानमा रहेका नेपालीहरुको अभिभावक संस्थाको रुपमा एनआरएनए जापानलाई लिईन्छ । यही जुलाई महिनाको अन्तिममा एनआरएनए जापानले नयाँ नेतृत्व चुन्दैछ । जापानमा रहेका नेपालीको अभिभावक संस्थालाई अभिभावकत्व प्रदान गर्न अर्थात् यसको अध्यक्षको प्रत्याशीको रुपमा आफूलाई अगाडि सारेका व्यक्तित्वको नाम हो, राजकुमार अधिकारी ।

बुवा चन्द्रबहादुर र आमा खिकुमारीबाट ३८ वर्षअघि धादिङको फूलखर्कमा जन्मिएका अधिकारी जापानमा समाजसेवी र व्यवसायीका रुपमा चिनिन्छन् । नेपालमा उनको हालको बसोबास भने बालाजु, काठमाडौँमा रहेको छ । सानैमा आमाको निधन भएपछि उनले आमाको माया पाएनन् । चार दाजुभाइ र एकजना दिदीको साथमा बुवाले गरिबी र पीडाका बीच आफूलाई हुर्काएको स्मरण उनीसँग ताजै छ ।
पछि उनले काठमाडौँको ग्रामिण आदर्श कलेजबाट १२ कक्षा उत्तीर्ण गरेपछि विदेश यात्राको ढोका खोल्ने तयारी गरेका हुन् । अमेरिका जाने सपना तुहिएपछि जापानको बाटो तय गरे ।

नेपालको पर्यटन क्षेत्रमा काम गदौगर्दै १५ वर्षअघि अधिकारी जापान आएका हुन् । जापान आएपछि उनी पनि अरुजस्तै गैरआवासीय नेपाली भए । यसैले सन् २०११ मा उनले एनआएरएनए जापानको सदस्यता लिए ।  अधिकारी सामान्य आर्थिक हैसियत भएका परिवारका व्यक्ति हुन् । जन्मघर धादिङमा निकै दुःखकष्टका साथ आफ्नो दैनिक जीवनयापन पार गरेको अनुभव उनीसँग छ । जसरी परिवारको आम्दानी हुन्थ्यो, उसैगरी आफ्नो जीवनयापान अगाडि बढाउनुपर्ने बाध्यता उनीमा थियो ।

आफू हुर्केबढेको फुलखर्क पनि सम्पन्न गाउँ थिएन । तैपनि गाउँका ठूलाठालूले कम आम्दानी भएका विपन्न नागरिकलाई थिचोमिचो नै गर्थे । दलितहरुलाई हेप्ने परिपाटी कायमै थियो । गाउँमा भईरहेको यस्तो विभेद आफ्नै आँखाले हेरिरहनुपर्दा उनलाई नमीठो लाग्थ्यो । वास्तववमा यी र यस्तै परिवेशले आफूलाई समाजसेवामा तानेको उनी बताउँछन् । उनी भन्छन्-‘गाउँमा दलितहरुलाई हेपेजस्तो लाग्थ्यो । धनीले गरिवलाई पेलेजस्तो लाग्थ्यो । यस्तै परिवेशले यस्ता सामाजिक विभेदविरुद्ध उत्रने क्रममा मलाई समाजसेवामा प्रवेश गराएको हो ।’

वास्तवमा भन्ने हो भने धादिङको यो परिवेशपछि जापान आउँदासम्म अधिकारीको धेरै समय फेरियो । उनका जीवनका पनि कैयन् उतारचढाव आए । समय फेरिएसँगै समाजसेवाको परिभाषा पनि फेरिएका छन् । पात्र र स्थान फरक होलान्, तर परिवेश र प्रवृत्ति भने उस्तै छ ।

‘नेपालबाट जापान आउँदा पनि परिवेश उस्तै पाएँ । नेपालीहरुका समस्या झनै रैछन् । सबैका सबै समस्या समाधान गर्न त सकिँदैन । तैपनि जति सकिन्छ, समाधान गर्दै जाउँ भनेर नै म एनआरएनए मा लागेको हो ।’- राजकुमारले एनआएनएको अभियानमा आफू लाग्नुको कारण खोतल्दै भने । जापानको व्यस्त दैनिकी, कठोर काम र समयको व्यवस्थापन गर्नैपर्ने बाध्यताले अधिकारीका जापान आउँदाका शुरुवाती दिनहरु कम्ती पीडादायी छैनन् । तर त्यही संघर्षले उनलाई जापानमा जीवन जिउने कला सिकायो ।

‘जापानमा कति रात त एकी (रेलको स्टेशन) मै सुतेर बिताइयो । त्यस्तो बेलामा कोहि नेपाली आएर सोधिखोजि गरिदिँदा पनि आफ्नै परिवार भेटेझैँ लाग्थ्यो ।’- उनले आफ्नो विगतलाई यसरी सम्झने प्रयास गरे । उनी थप्छन्- ‘यस्ता दुःख त कति भोगियो कति ।’ अहिले आएर भने त्यही दुःखले आफ्नो जीवनमा ठूलो परिवर्तन आएको अनुभव सँगाल्दै जापानको नागोयामा आफ्नै रेष्टुरेण्ट चलाएर बसेका छन् । जापान आएर मेहनत गरिसकेपछिको सफलताले जीवनमा ठिकै गरिएछ भन्ने पनि लागेको छ उनलाई ।

अग्रजहरुले दिएको सल्लाह अनुसार नै आफ्नो व्यवसाय र समाजसेवालाई साथ लिएर जाने योजनामा छन् उनी । ‘समाजसेवा र आफ्नो व्यवसायलाई सँगै लैजान नसक्दा धेरैको जीवन डामाडोल भएका उदाहरण छन् । यसैले यसप्रति म निकै सचेत छु ।’-उनले भने । बाल्यकालदेखि नै सामाजिक सेवामा सक्रिय हुनुपर्छ भन्ने हुटहुटीले अधिकारीलाई एनआएएनए जापानको नेतृत्व लिएर अध्यक्षको आकांक्षी बनाएको हो । त्यसो त, अध्यक्षको उम्मेदवार हुन पनि उनले धेरै मेहनत गरे । जापानमा रहेका करिब डेढ लाख नेपालीको अभिभावक हुन त्यति सजिलो पनि छैन । एनआरएनएको विभिन्न तह र जिम्मेवारीमा रहेर काम गरेपछि त्यसैको अनुभव र योग्यताका आधारमा आफू अध्यक्षको प्रत्याशी बनेको उनले बताए ।
उनी भन्छन्- ‘एनआरएनएमा लागेकै आठ बर्ष भएछ । यसैले जापानमा रहेका सबै नेपालीको सुःखदुःखको अभिभावक बन्नका लागि पनि अध्यक्ष बन्ने चाहना राखेको छु ।’ ‘गैरआवसीय नेपाली संघ जापान लक्ष्य अनुसार अघि बढ्न सकेको छैन । विभिन्न स्वार्थमा विभाजित भएको छ । त्यसैले जुटे-फुटेको एनआरएनएलाई अघि बढाउन पनि मेरो अभिभावकत्व आवश्यक छ’ अधिकारी थप्छन् । अधिकारीले भनेकै कुरालाई आधार मान्ने हो भने उनी सन् २०११ मा एनआरएनएको सदस्य भए । त्यसपश्चात यस अभियानमा उनी कार्यकारी भूमिकामा रहेरै काम गरेको इतिहास छ । सन् २०१५-०१७ मा नागोयाको सदस्य भएपछि अर्को कार्यकालमै उनले नागोयामा अध्यक्षको दावी गरे । अर्थात्, सन् २०१७-०१९मा नागोयाको संयोजकमा प्रत्याशी थिए । उनीसँगै दिपक कार्कीले पनि संयोजक बन्ने चाहना राखे । पछि गोलाप्रथाबाट संयोजक चुन्न सबै राजी भएपछि कार्की संयोजक बने भने अधिकारी केन्द्रीय सदस्य बने ।
संयोग ने मान्नुपर्छ, यसपटक पनि एनआरएनए जापानको अध्यक्ष बन्ने चाहना कार्कीले पनि राखेका थिए । पछि भने कार्कीले नै अधिकारीलाई नै समर्थन गरेर हिँडिरहेका छन् ।
यसैगरी सन् २०१९-०२१ को कार्यकालमा एनआरएनए जापानको युवा संयोजक बन्न खोज्दा तत्कालीन समयमा अनिल थापासँग चुनाव हार्नुपर्‍यो । यसपछि अधिकारी सन् २०२१-०२३ को कार्यकालमा केन्द्रीय उपाध्यक्ष भएर काम गरिरहेका छन् । नेपालमा पनि विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर उनले आफ्ना सामाजिक गतिविधिहरु बढाईरहेका छन् । जापानमा पनि दुःखमा परेका नेपालीलाई सहयोग गर्ने र एनआरएनएको अभियानमा सक्रियताका साथ उनको प्रस्तुती कायमै छ । जापानमा एनआएएनए बाहेक उनको आवद्धता यतिबेला धादिङ समाज, आइची भोलिण्टियर, जाइका, हेल्पिङ हृयाण्ड अर्गनाइजेशन, मितेरी नेपाललगायतमा छ । यसैले अब २०२३-०२५ कार्यकालको लागि उनी एनआएनए जापानको अध्यक्षको भूमिकामा देखिन चाहेका हुन् ।

निर्वाचन भईसकेपछि प्रतिष्पर्धा अवश्य हुन्छ । यो प्रतिष्पर्धाबाट उत्रेर अध्यक्ष हुन जो केाहिलाई गाह्रो नै हुन्छ । निर्वाचनमार्फत लक्ष्यमा पुग्न उम्मेदवारको विगतको क्रियाशिलता, भावी योजना र चुनावी ऐजेण्डाले पक्कै काम गर्छ । अधिकारीले पनि आफ्ना प्रतिवद्धतालाई जापानमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थिए ।

’सन् २०१० देखि एनआरएनए जापानका सक्रिय छु । सदस्य हुँदै एनआरएनए जापानको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकाले अध्यक्ष पदमा आफ्नो दाबेदारी स्वभाविक नै भएको ठानेको छु ।-उनी भन्छन् ।
आफू अध्यक्ष भइसकेपछि नेपालीहरुले जापानको अध्यागमन विभागमा नेपाली दोभासे सहयोगी राख्न र नेपाली भाषाबाट नै भिसा आवेदन दिन मिल्ने व्यवस्थाका लागि आफू लागिपर्ने अधिकारीको प्रतिबद्धता रहेको छ ।  उनले जापानको जुनसुकै ठाउँमा नेपाली भाषामा नै सवारी चालक अनुमति परीक्षा दिन पाउने व्यवस्थाका लागि जापान सरकारसँग समन्वय गर्ने, जापानीज नागरिकलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने, जापानमा रहेर पार्ट टाइम -(आरुबाइतो) काम गर्दा कर तिर्न नपर्ने व्यवस्था लागू गर्न नेपाल सरकार र जापान सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्ने, नेपाली कामदारको समस्या हल गर्ने लगायतका मुद्दा प्राथमिकताका साथ अघि सारेका छन् ।

‘सबैभन्दा ठूलो कुरा एनआरएनएलाई सबै नेपालीको आफ्नै संस्था हो भन्ने महशुश हुने गरि काम गर्ने नै हो । जापानका हरेक नेपालीलाई समस्या पर्दा अभिभावकको भूमिका निर्वाह गर्न सकियो भने नै ठूलै काम गरेजस्तो हुनेछ ।’- आफ्नो एजेण्डालाई उनले यसरी सुनाए । जापान बसाइ त्यागेर नेपाल फर्केकाहरुलाई नेपालबाटै पेन्सन लिने व्यवस्था गर्न र जापान-नेपाल बिचमा दोहोरो कर सम्भौताका लागि पनि आफूले पहल गर्ने पनि उनले बताए ।  जापानको विभिन्न उद्योग, विज्ञान-प्रविधि र अनुसन्धान क्षेत्रमा नेपाली युवा वैज्ञानिकहरुलाई प्रशिक्षण तथा अनुसन्धानको लागि जापान सरकारसंग पहलकदमी गरिदिनको लागि नेपाली दूतावास मार्फत आवश्यक अग्रसरता लिने पनि उनको योजना छ ।
जापानको यातायात, पर्यटन र भूकम्पका सुरक्षा क्षेत्रमा नेपालीहरुलाई आवश्यक रहेको तालिम र प्रशिक्षणको लागि व्यवस्था मिलाउने लगायत नेपाली विद्यार्थीहरूलाई जापानमा छात्रवृत्ति, पढाईका लागि अवसर, अनुसन्धान तथा सोधकार्य, अनुभव र रोजगारको लागि आवश्यक सेमिनारहरु क्षेत्रगत रुपमा गर्ने कुरालाई पनि उनले आफ्नो चुनावी एजेण्डामा राखेका छन् । एनआरएनएको संस्थागत विकासका लागि जुनसुकै समयमा पनि सदस्यता आव्हान गर्ने र संस्थाको आफ्नै भवन बनाउन आफू लागिपर्ने पनि उनले बताए ।
‘आफ्नै भवन बनाउन शुरुमै दश लाख यन व्यक्तिगत रुपमा सहयोग गर्छु कार्यालयमै डेस्कको स्थापना गरेर सबै नेपालीको गुनासा र सुझाव लिने काम गर्नेछु ।’- आफ्नो योजना उनले यसरी सुनाए ।
क्षेत्रीय समितिहरुलाई सशक्त बनाई क्षेत्रगतरुपमा रहेका नेपालीका समस्यालाइ तुरुन्त सम्बोधन हुने गरी ‘जहाँ समस्या त्यहाँ एनआरएन, जहाँ एनआरएन त्यहां समाधानका उपाय’ भन्ने नारा पनि उनले अघि सारेका छन् । यसबाहेक नेपाली कला-संस्कृतिलाई जापानमा चिनाउने र यसको प्रवर्द्धन गर्ने कुरालाई पनि उनले आफ्नो योजनामा सारेका छन् । खेलकुद क्षेत्रको प्रोत्साहन, व्यवसायिक क्षमता र दक्षताहरुको अभिवृद्धि गर्न जापानस्थित निकायसंग पहल गर्ने योजानालाई पनि उनले प्राथमिकतामा राखेका छन् ।

जापानमा सबैभन्दा धेरै समस्यामा पर्ने नेपालीहरु विद्यार्थी र कुक नै हुन् । हरेक पटक उनीहरुको समस्या जोडतोडले उठ्ने गरेको छ । समाधानका उपायबारे जापानमा धेरै बहस पनि चल्ने गरेका छन् ।
विद्यार्थी भिसामा आएकाहरु एनआएनको सदस्य हुन पाउँदैनन् । तर कुक भिसामा आएकाहरु सदस्य बन्न पाउँछन् । तर अधिकांश कुकहरुलाई एनआएनएले आफ्नो अभियानमा सक्रियतापूर्वक समेट्न सकेको छैन । अधिकारीले भने यी मुद्दालाई आफ्नो कार्यकालमा जोडतोडका साथ उठाउने भएका छन् । कुक भिसामा आएका नेपाली कामदारहरु नेपाली दाजुभाईबाटै पीडित बनेको कुरासँग उनी स्वयम् जानकार छन् । ‘म यो विषयसँग जानकार छु । एग्रिमेण्ट अनुसार विदा दिने, समयमा काममा लगाउने र तलब दिने कुरामा पूर्ण प्रतिवद्ध भएर लाग्न सबैलाई म आव्हान पनि गर्छु यसबारेमा छलफल भईसकेको छ’ -उनले भनेका छन् ।
राजकुमार अधिकारीको बसोबास जापानको नागोया हो । राजधानी टोकियोमा आवश्यक परेमात्रै आउजाउ गर्छन् उनी । राजधानीमा रहेकाहरुले क्षेत्रीय मुद्धालाई कमजोर बनाएको अनुभव उनीसँग धेरै छ । यसैले टोकियो बाहिरबाट उम्मेदवारी दिएर अध्यक्ष बन्ने अभियानमा छन् उनी । आफू अध्यक्ष भईसकेपछि क्षेत्रीय मुद्दालाई बलियो बनाउने पनि उनले बताए ।  सन् २०१३-०१५ मा यस क्षेत्रबाट पारसमणि पोखरेल अध्यक्ष भएपछि अन्य कोहि भएका छैनन् । यसैले यसपटक पुनः नागोयाका नेपालीहरुलाई इतिहास रच्ने अवसर पनि छ । तथापी एनआरएनएको अध्यक्ष हुन राजधानीमै भएकालाई सजिलो हुन्छ भन्ने आवाज उठाउनेहरु पनि छन् । टोकियोमा रहेका नेपालीहरुको ठूलो उपस्थिति, दूतावाससँगको सहकार्य, नेपालबाट आउने अतिथिहरुको आगमन र टोकियोकेन्द्रीत हुने कार्यक्रम र अवसरले एनआएनए जापानको अध्यक्ष टोकियोमै बसोबास भएको भइदिएदेखि धेरैलाई सजिलो हुनेथियो भन्ने धारणा गलत पनि होइन । तर अधिकारी यसलाई सजिलै मान्न तयार छैनन् । उनी भन्छन्-‘इच्छा र आकांक्षा भएपछि भूगोलले कसैलाई छेक्दैन । जो जहाँ भएपनि असल अभिभावकले संस्था सजिलै हाँक्न सक्छ । यसका लागि सबैलाई सुखदुःखमा साथ दिने चौडा छाती र मन हुनुपर्‍यो ।’
कम बोल्ने र धेरै काम गर्ने अधिकारीका विशेषता हुन् । उनी सकेसम्म आफूले गरेका कामलाई प्रचार गर्न पनि रुचाउँदैनन् । जापानका नेपालीमाझ उनी नम्र स्वभावका व्यक्तित्वका रुपमा चिनिन्छन् ।
एनआरएनए जापानको नेतृत्वमा पुग्ने चाहनालाई मात्रै उनले ठूलो कुरा मानेका छैनन् । ‘क्षेत्रीय, भेगीय तथा अन्य आस्थाहरुमा विभक्त नेपाली समुदायलाई एनआरएनएको छाताभित्र एकत्रित गर्नका लागि इमानदारी, सत्यनिष्ठा, र प्रतिबद्धताका साथ काम गर्ने नै मेरो चाहना हो ।’-उनी भन्छन् । ***

तपाईको प्रतिक्रिया