Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – एनआरएनए जापानको अधिवेशन नजिकिएसंगै चुनावी सरगर्मी बढेको छ । ३२ वटा विभिन्न पदमा ६२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । उसो त दाबी बिरोध र उम्मेदवारी फिर्ता लिने समय भने अझै बाँकी छ । त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएपछि मात्र मैदानमै उत्रने वास्तविक उम्मेदवारको पहिचान हुने छ ।

निर्वाचन समितिले जनाएअनुसार १ जना अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसअनुसार नविन निउरे, राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ र संगिता अधिकारी सुबेदी रहेका छन् । अध्यक्षका आकाँक्षी यी चारै जना मौजुदा कार्यसमितिका उपाध्यक्ष हुन् ।

यी चारै जनाको तयारी, कन्फिडेन्सको लेभल, उत्साह र जोश हेर्दा अन्तिमसम्म भिड्ने देखिन्छन । यी चारैजना उम्मेदवारहरु जापानको फरक फरक भूगोलबाट प्रतिनिधित्व गर्दछन् । निउरे चिबाकेन, अधिकारी नागोया, श्रेष्ठ फुकुओका र अधिकारी सुबेदी राजधानी टोकियोबाट प्रतिनिधित्व गर्छन् ।

नेपालीहरुको जापान आगमन बढ्दोक्रममा रहेपनि निरन्तर खस्कदो एनआरएन जापानको क्रेजलाई जुरुक्क उठाउनुपर्ने अबको नेतृत्वको पहिलो चुनौती हुने छ । एनआरएन जापानलाई हल्ला कम, कामकाजी धेरै बनाउन त्यहि अनुसारको योजना, नीति र प्राथमिकता तय गरिनुपर्ने देखिन्छ । चारैजनाको प्रतिबद्धता पत्र हेर्दा नेपालका राजनीतिक दलका उम्मेदवारहरुलाई माथ खुवाउने खालका देखिन्छन् । हुन त उताको बाछिटा यता नआउने कुरै भएन, तथापि जापानका नेपालीहरुलाई जे गफ दिए पनि पत्याईहाल्छन् नि भन्ने ग्रसित मानसिकताबाट लम्बेतानका मनगढन्ते प्रतिबद्धता पत्रलाई हेरेर कसलाई मत दिने भनेर धारणा बनाउनेको संख्या कति होला त्यो यसै भन्न सकिन्न ।

एक थान अध्यक्ष बनाउने नाममा मिलेर बसेको नेपाली समाजलाई विभाजित गर्ने र हुँडल्ने काम कोही कतैबाट हुनु भएन, यतातिर चारै जना अध्यक्षका प्रत्याशीको ध्यान जान आवश्यक छ । र आफु अग्लो हुन अरुलाई होच्याउन पनि आवश्यक छैन । निर्वाचन भनिसकेपछि स्वभावैले नेपाली समाज अलि बढि भावनात्मक र अलि बढि उत्तेजित हुने प्रकृतिका हुन्छन् । यस्ता संबेदनशील मामिलामा उम्मेदवारहरु अत्यधिक संयमित हुनैपर्छ र बोल्ने कम सुन्ने बढि गर्नुपर्छ । यसो मात्र गरे पनि माहौल अर्कै हुन सक्छ । समाजमा उत्तेजना फैलाउने स्थिति सिर्जना हुन नदिन सबैभन्दा बढि उम्मेदवारहरु नै सचेत हुनुपर्ने देखिन्छ ।

जापानको नेपाली समाजले चाहेको र खोजेको जस्तो एनआरएन जापानको अध्यक्ष भनेको आम नेपालीले गर्व गर्न लायकको ब्यक्तित्व होस्, नयाँ पुस्ता र पुराना पुस्ताका नेपालीहरुको बीचमा रहेर समन्वयकारी भूमिका खेल्न सक्ने होस्, झिनामसिना जन्ति मलामी जस्ता काममा नअल्झेर नेपाल र जापान दुईदेशबीचको सम्बन्धलाई थप मजबुत बनाउनका लागि सोही बमोजिमका कार्यक्रम दिन सक्ने होस्, जापानबाट नेपालमा लगानी र पर्यटक भित्र्याउनका लागि परिणाम देखिनेगरी कदम चाल्न सक्ने होस्, एनआरएनको गिर्दो साखलाई उठाउन र एनआरएनप्रति जापानबासी नेपालीहरुको आकर्षण बढाउन ग्रासरुटसम्म विशेष अभियान लैजान सक्ने होस् ।

जितेपछिको दम्भ र हारेपछिको कुण्ठा नेपालीका पुर्ख्यौली रोग हुन् । निर्वाचनको मैदानमा प्रवेश गर्नु अघि गर्नुपर्ने सबै बाचा-कबोलमा ल्याप्चे लगाएर वर्षौसम्म रोइलो र कोकोहोलो मच्चाएर जापानबासी नेपालीहरुको गिदी खराब गर्ने छैन भनेर प्रण गर्न र गराउन अध्यक्षका प्रत्याशीहरुबाटै सुरु गर्नुपर्दछ । निर्वाचनको परिणाम स्वीकार्य छ भनेर अग्रिम संकल्प सहित निर्वाचनमा होमिने वातावरण बनाउन निर्वाचन समितिको कार्यसम्पादन पारदर्शी हुनेमा ग्यारेन्टी गर्नुपर्छ ।

यसैगरी अन्य उम्मेदवारहरुमा ५ जना उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ । जसअनुसार बिष्णुप्रसाद सुबेदी (बिश्व), देवराज उप्रेती, कृष्ण गैरे शर्मा, मुक्तिराम खनाल (बिनोद), रुद्र मल्ल (मनोज), सचिन श्रेष्ठ, सिध्दार्थ श्रेष्ठ र सुभास लामिछाने छन् ।

यसैगरी १ जना महिला उपाध्यक्षका लागि एलिजा केसी भण्डारी र लक्ष्मी केसी महर्जन गरी दुई जनाको उम्मेदवारी परेको छ ।

संस्थाको सबैभन्दा केन्द्रिय एवं चलायमान भूमिका रहने १ जना महासचिवका लागि ३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारहरुमा कमल बाँस्तोला, श्यामकुमार श्रेष्ठ (श्याम शितल) र टिकाराम खरेल रहेका छन् ।

यसैगरी ३ जना सचिवका लागि अर्जुन थापा, ज्ञानेन्द्र भट्ट, दिलिप कँडेल, दिपेश खत्री, मनोज श्रेष्ठ र सचिन शर्मा (आचार्य) गरी ६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ भने १ जना महिला सचिवका लागि भने चन्द्रकुमारी केसीको मात्रै उम्मेदवारी परेको छ ।

यसैगरी १ जना कोषाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसअनुसार दीपक सुनार, कर्साङ तामाङ, राकेश लामा, रामबहादुर खड्का रहेका छन् ।

१ पद रहेको सहकोषाध्यक्षमा हरिगोपाल श्रेष्ठ र रामबहादुर थापा गरी २ जनाको उम्मेदवारी परेको छ । महिला सहकोषाध्यक्षमा भने १ जना अञ्जु भण्डारीको मात्रै उम्मेदवारी परेको छ ।

युवा संयोजक १ पदमा मुक्तिराज रेग्मी र राजु भण्डारी (सुनिल) को उम्मेदवारी परेको भने महिला संयोजकमा १ जना हेमा पाण्डेको उम्मेदवारी परेको छ ।

८ जना सदस्यका लागि १७ जनाको उम्मेदवारी परेको छ । जसअनुसार अशोक भट्टराई, बिनय गुरुङ, ध्रुब गौतम, दिलिप शर्मा, दिनेश लोहनी, गणेश अधिकारी, ज्योति केसी, शिवप्रसाद खरेल, खिमराज शाह, कृष्णबहादुर पाण्डे, कृष्णप्रसाद कँडेल, नेत्र पाण्डेय, रमेशराज जैशी, रामु कँडेल, रोहितकुमार न्यौपाने, उत्तम खनाल र सुबराज भण्डारी (राजु) रहेका छन् ।

यसैगरी १ जना महिला सदस्यका लागि ललिता तामाङ र नानीमैया तामाङ गरी २ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी जापानबासी नेपालीहरुको प्रतिष्ठाको बिषय बन्ने गरेका ६ जना आइसीसी सदस्यका लागि ९ जना आकाँक्षीहरुको उम्मेदवारी परेको छ ।

हुन त जापानबासी नेपालीहरुले अहिलेसम्म बुझ्न नसकेको र बुझाउन नखोजिएको यो आइसीसीका सदस्यहरुको काम, कर्त्तब्य र अधिकार बारे सतहमा देखिने गरी कतै केही हुने गरेको देखिदैन । बिना बिभागिय मन्त्रीजस्तै भएर होला काम खासै गर्न नपर्ने तर नाम भने बेसरी आउन पर्ने यो आइसीसी नामको पोष्टमा आकर्षण भने अलि अलि देखिन्छ । यो आइसीसीवलाहरुलाई पनि अलि अलि भए पनि कामकाजी बनाउनुपर्ने देखिन्छ । अहिलेसम्म धेरैजसोको अवस्था आसनग्रहण र खादामाला गरेरै कार्यकाल गुजार्ने गरेको देखिन्छ । जे होस यसपटक जापानको प्रतिनिधित्व गर्दै आइसीसीको सदस्यका उम्मेदवारहरुमा बाबुराम खरेल, बिजेश थकाली, बिकास श्रेष्ठ, बिष्णुप्रसाद घिमिरे, छत्रबहादुर दाहाल, कृष्ण केसी (थमन खत्री), राम थापा (अनिल), श्रीभक्त गुरुङ (श्री गुरुङ)  र सुमन कार्की रहेका छन् ।

हुन त जस्तो आफु उस्तै च्यापु भनिन्छ क्या रे, चाहे घरदेश होस् या परदेश, जस्तो मतदाता उस्तै नेता चुनिने हुन् । तर पनि जापानको साख जोगाउन, एनआरएनको क्रेज बढाउन, कम बोल्ने र धेरै सुन्ने कामकाजी ब्यक्तित्वलाई जिम्मेवारी सुम्पिने यो अवसरमा जापानबासी सचेत मतदाताहरुले पक्कै आफ्नो विवेक प्रयोग गर्नेछन् भन्ने यतिबेला आम जापानबासी नेपालीहरुको बुझाई रहेको छ ।***

तपाईको प्रतिक्रिया