Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – उत्तरपूर्वी चीनमा एक विद्यालयको व्यायामशालाको लागि बनाइएको हलको छाना भत्किँदा ११ जनाको मृत्यु भएको छ । हेइलोङजियाङ प्रान्तको किकिहारमा निर्माण कर्मीहरूले भवनको छतमा पानी जम्मा गर्न अवैधरूपमा संरचना बनाएको र अत्यधिक भारका कारण उक्त भवन भत्किएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार सरकारी प्रसारक सिसिटिभीले प्रसारण गरेको फुटेजमा कङ्क्रिटको स्ल्याबबाट बनेको छाना पूरै ढलेकोे देखिएको छ । उद्धारकर्मीहरूले पीडितहरूसम्म पुग्नका लागि कङ्क्रिट र घुमाउरो धातुको ठूलो टुक्राहरू तोडेको फुटेजले देखाएको छ । ‘दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ,’ सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।

दुर्घटनाको गहन अनुसन्धान भइरहेको र निर्माण कम्पनीका प्रमुखलाई प्रहरी हिरासतमा राखिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सिन्ह्वाका अनुसार ३४ नम्बर को मिडिल स्कुलको जिम आइतबार दिउँसो ३ बजेतिर ढलेको थियो । स्थानीय पत्रिका हेइलोङजियाङ डेलीका अनुसार दुर्घटना हुँदा १९ जना जिममा थिए । चार जनालाई भग्नावशेषबाट बाहिर निकालिएको र अन्य चार जनाले दुर्घटनापछि भागेर ज्यान बचाउँन सफल भएका छन् ।

करिब १६० अग्निनियन्त्रक र ३९ वटा फायर ट्रकको खोजी तथा उद्धार कार्य सम्पन्न भएको सीसीटीभीले जनाएको छ । नाम नखुलाइएको एक स्रोतले सरकारी स्वामित्वको चोङकिङ न्युजलाई बताएअनुसार छानामा थुप्रिएका सामग्रीको बारेमा भत्किनुअघि नै चिन्ता व्यक्त गरिएको थियो । ‘व्यायामशाला २० वर्षभन्दा पहिले निर्माण गरिएको थियो र धेरै ठाउँ लामो समयदेखि जीर्ण अवस्थामा पुगेको थियो,’ स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

गत महिना चीनको उत्तरपश्चिमी क्षेत्रमा रहेको बारबेक्यू रेस्टुरेन्टमा भएको विस्फोटमा ३१ जनाको मृत्यु भएको थियो भने कार्यस्थलको सुरक्षाका लागि राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने औपचारिक प्रतिबद्धता व्यक्त गरिएको थियो । गत अप्रिलमा बेइजिङको एक अस्पतालमा भएको आगलागीमा परी २९ जनाको मृत्यु भएको थियो भने केहीले झ्यालबाट हाम फालेर भाग्न सफल भएका थिए । सन् २०१५ मा तियानजिनमा रासायनिक गोदाममा भएको ठूलो विस्फोटमा कम्तीमा १६५ जनाको मृत्यु भएको थियो । यो चीनमा भएको सबैभन्दा खराब दुर्घटनामध्ये एक हो ।

तपाईको प्रतिक्रिया