मंगलबार, जेठ १५, २०८१
Tuesday, May 28, 2024

पछिल्लो समयमा मानिस आफैले बिकास गरेको सूचना र प्रविधिले उल्टै मानिसलाई दास बनाउँदै लगेको छ । अहिले मानिस यति धेरै अस्थिर, चञ्चल र यान्त्रिक भएको छ कि उसले धैर्यता भन्ने कुरो लगभग सबै गुमाईसकेको छ । पुस्तक, पत्रपत्रिका पढ्ने त उसलाई फुर्सदै छैन, लगाव नै छैन । आँखा गईहाले पनि यसो शीर्षकतिर पुलुक्क हेरयो त्यसबाहेक अरु पढ्न उसलाई समय मात्र हैन रुची पनि छैन । आजको दुनियाँमा मान्छेलाई ३० सेकेण्डभित्रमा सबैथोक चाहिएको छ, मानौ उसको धैर्यताको अधिकतम क्षमता त्यत्ति नै हो । सभा-सेमिनारतिर वक्ताहरुको लामो लामो निरसिलो भाषण सुन्न त झन मान्छेहरु अचेल कोही तयार छैनन् । जतिसुकै ज्ञानगुण र वौद्धिक एवं खुराकिलो बिषय भएता पनि मान्छे अहिले १० मिनेट मात्रै शान्त र ध्यानपूर्वक अरुलाई सुन्न नसक्ने भईसकेको छ । अझ स्मार्टफोन खेलाउँदै हुर्केका नयाँ पुस्ताको त झन के कुरा गर्नू ? उनीहरुमा मानवीय संवेदनशीलता, आत्मीयता र भावनात्मक निकटताको अंश भन्दा यान्त्रिक मोहको मात्रा कैयन गुना बढि पाईन्छ ।

हरेक मान्छेसंग दैनिक २४ घण्टा समय हुन्छ, ८ घण्टा काम, ८ घण्टा आराम र बाँकी रहेको ८ घण्टा समय परिवारका लागि, आफ्नो रुचीको बिषयमा मनोरञ्जन र घुमफिरका लागि, ब्यायाम तथा खेलकुदका लागि छुट्याएर आफुलाई नियमित पुनर्ताजगी बनाउनुपर्ने जानकारहरु सुझाउछन् । त्यसबाट पनि दिनको १ घण्टा आफ्नो लागि समय निकालेर आफैलाई चिन्न र आफूभित्रको चाहना, लक्ष, गन्तब्य, क्षमता, सामर्थ्य, ऊर्जा र कमीकमजोरीहरुको पहिचान गरी सूचीकरण गर्दै अगाडि बढ्न सके मानिसले ३ महिनामै आफुलाई रुपान्तरण गरी छलाङ मार्न सकिने विज्ञहरुको तर्क छ ।

मानिसले आफुले आफुलाई बेलैमा चिन्न सके मात्र उसको जीवन सार्थक र उन्नत हुने हो, नत्र भीडमा हराउने औसत मानिस भन्दा अरु अपेक्षा गर्न सकिंदैन । भीडमा मान्छेहरुको साथ पाए पनि पहिचान पाईदैन । यस धर्तीमा आफ्नो जन्म हुनुको औचित्यलाई पुष्टि गर्न सक्नुपर्दछ । करौडौ शुक्रकिटबाट एउटा मात्र शुक्रकिट डिम्बमा मिलन भएर गर्भ रहन गई सकुशल जन्म लिनुको अर्थ ठूलो संख्याबाट छनौट भई यस धर्तीको सदस्य बन्न पाउने सौभाग्य प्राप्त हुनु हो । यसै तथ्यलाई सँधै केन्द्रमा राखी मान्छेको जीवन कति मूल्यवान छ भन्ने भावका साथ दिनको १ घन्टा अनिवार्य आफ्नो लागि छुट्याएर आफुले आफैलाई चिन्न, माया गर्न र आफुभित्र अन्तर्निहित क्षमतालाई उजागर गर्न ढिला गर्नुहुदैन । म को हुँ, म किन यहाँ छु, मेरो कर्त्तब्य के हो, मेरो लक्ष के हो, मभित्र के शक्ति वा क्षमता छ, मेरा कमजोरीहरु के के हुन् भन्ने कुरो केवल आफैलाई मात्र थाहा हुने भएकोले यिनै बिषयलाई दैनिक चिन्तन, मनन र गन्थन गर्दै आफुलाई रुपान्तरण गर्न सकिन्छ भन्ने जानकारहरुको दावी छ ।

औसत मान्छेहरु आफ्नो लागि भन्दा अरुका लागि समय खर्चिरहेका हुन्छन् जसले गर्दा आफ्नो खुशीका लागि समय बच्दैन । यस्तो अवस्था निरन्तर कायम रहयो भने यसले बेचैनी पैदा गर्छ र हाम्रो गन्तब्य धरापमा पर्छ । जानकारहरुका अनुसार आफुलाई चिन्नका लागि दैनिकरुपमा नियमित गरिने यस्तो साधनाले मान्छेलाई आत्मबल बढाउनुका साथै जस्तोसुकै कठिन परिस्थितिसंग पनि जुध्न सक्ने अथाह शक्ति प्राप्त हुन्छ । भनिन्छ, मान्छे युवा हुने भनेको उमेरले हैन, ऊर्जाले हो, जोश र जाँगरले हो, जिन्दगीमा केही गरौं भन्ने तीब्र उत्साह सहितको हुटहुटीले हो । त्यस्ता मान्छेको संगतले कसैको विचार बदलिन थाल्यो भने उ चानचुने मान्छे हुनै सक्दैन, त्यसैले आफुले आफैलाई यस्तो बनाउन सकौं कि पाउनेवला गर्व गर्न सकोस् गुमाउनेले पछुताउन परोस् । जुन ऊर्जा आफ्नो लागि लगानी गरिने दैनिक १ घण्टा समयको साधनाबाट मात्र प्राप्त गर्न सकिन्छ । अझ विशेषगरी परिवारदेखि टाढा रहेर वैदेशिक रोजगारीमा संलग्न हामी नेपालीहरुका दुख, ब्यथा, पीडा अनेक छन्, त्यसलाई झेल्न पनि शारिरिक रुपमा मात्र नभएर मानसिकरुपमा पनि फिट हुनु जरुरी छ, त्यसकारण दैनिक १ घण्टा आफ्नो लागि भन्ने सूत्र आजैबाट लागू गरौं । ***

 

तपाईको प्रतिक्रिया