Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
क्यूशु प्रान्त कुमामोतोमा नेपाली कलाकारले खोपेको मूर्ति ।

काठमाडौं – नेपाली मूर्तिकार मञ्जुल मितेरीको नेतृत्वमा जापानमा बनेको ‘बुद्धको विशाल मूर्ति’ कै निर्माणस्थलमा नेपाली शैलीको अर्को मूर्ति पनि बन्ने भएको छ । मूर्तिकार मञ्जुल मितेरीको नेतृत्वमा जापानको कुमामोतो जिल्ला, खामीआमाकुसा क्षेत्रमा सन् २०१६ देखि सन् २०२२ सम्ममा बुद्धको विशाल मूर्ति निर्माण भएको थियो ।

सोही स्थानमा नेपाली शैलीको अर्को मूर्ति बनाउन सुरु भएको छ । कलाकार मितेरीले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कला संवाद कार्यक्रममा यस्तो जानकारी दिएका हुन् । पाँच वर्षभित्र जापानको खामीआमाकुसाको विशाल ढुङ्गामा बुद्धको मूर्ति बनाउने लक्ष्यले कलाकारको भिसामा जापान पुगेका कलाकार मञ्जुलको टोलीलाई मूर्ति बनाउन करिब छ वर्ष लागेको थियो ।

कलाकार मञ्जुलले भने, ‘सोही स्थानमै नेपाली शैलीको मूर्तिसहित नेपाल प्रज्ञा–प्रतिष्ठान र बुद्धको विशाल मूर्ति बनाउने नेपाली कलाकारको नामसमेत शिलापत्रमा उल्लेख गरिने योजना छ ।’ यस्तो कार्यले नेपाल र नेपाली कला क्षेत्रको विश्वमा पुनः चर्चा हुने, अन्य स्थानमा मूर्ति बनाउनसमेत अवसर प्राप्त हुने विश्वास व्यक्त गरे । पर्यटकीय पूर्वाधारलगायत बाँकी काम सम्पन्न भएपछि सन् २०२५ मा जापानले विशाल मूर्तिको उद्घाटन गर्ने कार्यतालिका बनाएको छ ।

मोरङ, उर्लाबारीका बासिन्दा कलाकार मञ्जुलसँगै सूर्य केसी, सानुभाइ विश्वकर्मा, रामचन्द्र पण्डित, चतुरराज राजवंशी, जीवन पौडेल, रामकुमार राई, गणेश राई, सुवास विश्वकर्माले खामीआमाकुसाको दुई सय मिटर चौडाइ र सत्तरी मिटर अग्लो चट्टानमा विशाल बुद्धको मूर्तिसँगै अन्य मूर्ति निर्माण गरेका हुन् । जापानस्थित ओसिमा सेकी बुचुयामा प्रतिष्ठानको परियोजना प्रमुख ओसिमा सिजुकीको संयोजनमा नेपाली कलाकारलाई बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने सन्देशसहितको मूर्ति निर्माणका लागि जापान लगिएको हो ।

मूर्तिकार मञ्जुलले आर्थिक लगानी र योजना भए नेपालका विभिन्न पहाडका ढुङ्गामा पनि त्यस्तै विशाल मूर्ति बनाएर पर्यटकीय स्थानका रूपमा विकास गर्न सकिने अनुभव बटुलेको बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकार मञ्जुलको नेतृत्वमा नेपाली कलाकारले जापानसम्म पुगेर गरेको कामले कलाको माध्यमबाट नेपाललाई पुनः चिनाउने काम भएको बताए । विगतमा अरनिकोले चीनमा गएर निर्माण गरेको मूर्तिले नेपाललाई चिनाएकोमा मञ्जुलको टिमले त्यो इतिहासलाई पुनः ताजगीकरण गरेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया