बुधबार, जेठ ०९, २०८१
Wednesday, May 22, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साइबर सुरक्षामा गम्भीर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवाला मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रमुखसहितको बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । साइबर सुरक्षाका कारण राष्ट्रिय सुरक्षामा समेत चुनौती थपिने भएकाले सरोकारवाला निकायलाई गम्भीर हुन उनले आग्रह गरे ।

बैठकमा प्रधानमन्त्री दाहालसमक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीले साइबर सुरक्षाबारे नेपालमा भइरहेका कामकारबाहीबारे बिफ्रिङ गरेको राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदार बैरागीले जानकारी दिए ।

‘यो साइबर सुरक्षाका सम्बन्धमा हामीले अहिले के गरिराखेका छौं, कहाँनेर चुनौती छ ? ती चुनौतीहरुलाई सम्बोधन गर्न के गर्नु पर्छ ? भन्ने विषयमा तीनवटा प्रस्तुतिहरु थियो’, बैरागीले भने, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीको यसबारे प्रस्तुति थियो । त्यसमा अहिलेसम्म भएका काम, कारबाहीहरुको समीक्षा भयो ।’ बैठकमा साइबर सुरक्षालाई बलियो बनाउने गरी छुट्टै कार्ययोजना बनाएर लागू गर्ने निर्णय पनि भएको उनले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया