Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेपाली सेनाको संख्या कुनै हालतमा घटाउन नहुने बताएका छन् पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले नेपाली सेनाको संख्यालाई घटाउने कुरा अपमान बाहेक केही हुन नसक्ने बताए ।

आज (बिहीबार) राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि दुई लाख सेना थप गर्न प्रस्ताव गरे । त्यसो गरिए नेपाली सेनाले आगामी पाँच वर्षभित्र नेपाललाई आत्मनिर्भर मात्रै बनाउने नभई विदेश निर्यात गर्ने मुलुकको स्तरमा पुर्‍याउने दाबी गरे ।

कुनै पनि राज्य बन्नका लागि भूमि, अधिकार सम्पन्न जनता, स्वतन्त्र सरकार र सेना गरी चार अंग आवश्यक पर्ने गौतमले बताए । ती चार अंगमध्ये एउटा अंग कमजोर भए पनि दुर्घटना व्यहोर्नुपर्ने उनको भनाइ छ । ‘राज्यका चार अंग छन्, एउटा अंग कमजोर भयो भने हामीले दुर्घटना ब्यहोर्ने भन्दा केही हुन्न । त्यसैले नेपाली सेनालाई हामीले अपमान गर्न हुँदैन’ उनले भने ।

नेपाली सेनाले धेरै अप्ठ्यारो परेका बेला नेपालको रक्षा गरेको भन्दै गौतमले सेनाबारे बहस गर्नेहरूलाई इतिहास पढ्न सुझाव दिए । राजाले निर्माण गरेको शक्ति भए पनि नेपाली सेनाले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई समर्थन गरेर जनताले जे निर्णय गर्छन्, त्यो हामी शिरोधार्य गर्छौ भनेर भनेको उनले बताए । ‘त्यो सेना, गौरवगाथा बोकेको सेना, त्यो इतिहास पढनुपर्छ, दोहोर्‍याएर पढ्नुस् म ती साथीहरूलाई अनुरोध गर्छु, जसले सेनाको संख्या घटाउनुपर्छ, त्यसबाट बचेको पैसाले देश विकास गर्नुपर्छ भन्छ’ उनले भने ।

खर्च घटाउन प्रतिनिधिसभाका सदस्यहरूको संख्या घटाउन सकिने, राष्ट्रियसभा नै खारेज गरे पनि हुने भन्दै उनले सेनाको आकार घटाउन नहुने बताए । उनले संविधानमा संघीय व्यवस्था भएकाले मात्र प्रदेश संरचना आवश्यक देखिएको नभए त्यसको पनि कुनै अर्थ नभएको बताए । ‘अर्को दुई लाख सेना निर्माण गरेर देश निर्माण र औद्योगिक क्षेत्र र कृषि उत्पादनको क्षेत्रमा लगाउनुस् । सेनाले गरेर देखाउँछ । उसले पाँच वर्षभित्र नेपाललाई आत्मनिर्भर मात्रै होइन । विदेश पठाउने गरी हामीले हाम्रो देशमा उत्पादन बढाउन सक्छौँ’, उनले भने ।

तपाईको प्रतिक्रिया