Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – आकर्षक रोजगारीको प्रलोभनमा परेर दलाललाई मोटो रकम बुझाएर कुवेत पुगेका पाँच नेपाली सम्झौता अनुसारको काम र तलब नपाएपछि अलपत्र परेका छन्। काठमाडौं बसुन्धरामा रहेको लगिन इन्टरनेसनल सर्भिसेस प्रालिबाट कुवेत पुगेका पाँच नेपाली युवा विगत सात महिनादेखि सम्झौता अनुसारको काम नपाउदा अलपत्र परेका हुन्। मोरङ पथरीका विशाल लिम्बुका अनुसार म्यानपावरलाई प्रतिव्यक्ति एक लाख ५० हजारदेखि ८० हजारसम्म बुझाएर त्यहाँ पुगेका उनी सात महिनादेखि काम नपाएर समस्यामा परेका हुन्।

‘हामी बाइक राइडरको लागि कुवेत आएका हौं, नेपालबाट म्यानपावरले पठाउदा एक महिनापछि तिमीहरुको काम सुरु हुन्छ। काम नभए पनि कम्पनीले तलब दिन्छ भनेको थियो’, लिम्बुले भने, ‘खै के भन्ने अहिलेसम्म लाइसन्स पनि दिएन। तलबको के कुरा गर्नु, खानै समस्या छ।’ कम्पनी अहिलेसम्म सिभिल आइडी नदिएको र दुई जना साथीलाई मात्र काम दिएको उनीहरुको भनाइ छ। बाइक राइडरका लागि आएका उनीहरुलाई कम्पनीले कार चलाउन लगाएको छ। सात महिनाको अन्तरालमा कम्पनीले दुई जनालाई मात्र एक–एक महिनाको तलब दिएको उनीहरुको भनाइ छ।

‘अहिलेसम्म हामी दुई जनाले मात्र तलब पायौं त्यो पनि एक महिनाको मात्र, एक जनाले ५० दिनार र अर्को जनाले ८० दिनार पाएका थियौं’, अर्का झापा धुलाबारीका सुरेन श्रेष्ठले भने, ‘त्यति पैसाले के खाने, हामी यहाँ अलपत्र अवस्था छौं, हामीलाई चाँडो उद्धार गर्नुहोस्।’ उनीहरुले राम्रो आम्दानी हुने लोभमा घरबाट सयकडा तीन रुपियाँले ऋण लिएर त्यहाँ पुगेको बताएका छन्। ‘घरबाट सयकडा तीन रुपियाँको ब्याजमा ऋण लिएर राम्रो कमाई हुने भन्दै यहाँ आएका थियौँ, यहाँ आएर न सम्झौता अनुसारको काम नै पाइयो न त दाम नै’, मोरङ मधुमल्लाका प्रेमबहादुर विश्वकर्माले भने, ‘यहाँ खानै समस्या छ, अब नेपाल फर्किएर कसरी ऋण तिर्ने हो ?’

आफूहरुले सम्झौता अनुसारको काम र दाम नपाएको भन्दै पटक पटक पठाउने म्यानपावर कम्पनीलाई जानकारी गराएको भए पनि म्यानपावरले अहिलेसम्म कुनै सुनवाइ नगरेको उनीहरुको गुनासो छ। पछिल्लो समय म्यानपावरले फोन उठाउन छोडेको र अलपत्र परेका सबै जनाको फोन ब्लक लिस्टमा आरोप लगाएका छन्। यता कुवेतस्थित नेपाली दूतावासमा पनि आफूहरु समस्यामा परेको र सहयोग गर्न आग्रह गर्दा हुन्छ, हुन्छ भनेर टार्ने गरेको पीडितको गुनासो छ। उनीहरुले आफूहरुलाई सकुशल उद्धार गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, विभिन्न सामाजिक अभियन्तालगायत सम्बन्धित निकायलाई अनुरोध गरेका छन्। अलपत्र पर्नेमा मोरङ पथरीका विशाल लिम्बु, झापा धुलाबारीका सुरेन श्रेष्ठ ,मोरङ मधुमल्लाका प्रेमबहादुर विश्वकर्मा, झापा गौरीगंजका नरेश वैश्य र पोखरा हेम्जाका लक्ष्मण लामिछाने रहेका छन्।

 

तपाईको प्रतिक्रिया