Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । हिमालयन लक्जरी विन्स कम्पनीले विगत तीन वर्षदेखि यहाँका किसानले उत्पादन गरेको कफी जापान निर्यात गर्दै आएको हो ।

यस क्षेत्रमा उत्पादित कफी राम्रो र गुणस्तर भएकाले जापनिजहरूको रोजाइमा पर्ने गरेको हिमालयन लक्जरी विन्सका सञ्चालक गुणबहादुर लामाले बताए । अहिले जापानको कलरवाथ नामक संस्थाले काभ्रेपलाञ्चोकको बनेपामा रहेको विन्ससँग समन्वय गरी यहाँ सङ्कलन गरेको कफी प्रशोधन गरेर निर्यात गरिरहेको उनले जानकारी दिए । किसानले उत्पादन गरेको कफीलाई सुरुमा त्यही प्रशोधन गर्ने र पूर्ण रुपमा बनेपामा ल्याएर प्रशोधन गर्ने गरेको उनले बताए ।

‘व्यावसायिक रुपमा उत्पादन कम भएकाले पनि उत्पादन गरेको कफी वार्षिक १ हजार ५ सय केजी निर्यात गर्दै आएका छौँ,’ लामाले भने, ‘हामीले पहिलादेखि विशेषगरी फोक्सिङटारको ठूलो पोखरामा उत्पादन गरेको कफी निर्यात गर्दै आएकामा पछिल्लो समयमा कोशीपारिको चौँरीदेउराली र खानीखोला गाउँपालिकाका किसानले उत्पादन गरेको कफीलाई पनि निर्यात गर्दै आएका छौँ । जसबाट वार्षिक २५ लाख आम्दानी हुने गरेको छ ।’

उनका अनुसार यहाँ उत्पादन भएको कफी राम्रो भएकाले पनि जापनिजहरुको पहिलो रोजाइमा पर्ने गरेको छ । ‘किसानले जति उत्पादन गरे पनि हामीले सबै खरिद गरेर उहाँहरूलाई पैसा दिन्छौं,’ उनले भने, ‘त्यसका लागि कसरी टिप्नेदेखि प्रशोधन कसरी गर्ने, बजारसम्म कसरी सुरक्षित लाने भन्ने विषयमा समेत किसानलाई तालिम दिने गरेको छ ।’

डाँडापारिको ठूलो पोखरामा फल पाकेपछि टिपेर बोक्रा फाल्ने पल्पिङ सेन्टरसमेत स्थापना गरेको छ । जहाँबाट उत्पादन भएको कफी प्रशोधन गरी बनेपामा ल्याउने गरिएको छ । किसानको बारीबाट टिपेर ‘पल्पिङ’ गरेको कफीको प्रतिकेजी पाँच सयदेखि ६ सयसम्म गुणस्तर हेरेर तिर्ने गरेको संस्थाले जनाएको छ ।

सुरुमा केही किसानलाई निःशुल्क बिरुवा वितरण गर्नाका साथै रोप्ने, गोडमेल गर्ने र त्यसको फललाई सुरक्षित रुपमा टिप्ने विधिसमेत सिकाइएको थियो । एकपटक रोपेको बिरुवाबाट ५० वर्षसम्म आम्दानी दिने गरेको छ । एक रोपनीमा २५ देखि ३० हजारसम्म कमाई हुने गरेको किसानको भनाइ छ । जापानको बजारमा अरू देशको कफीको तुलनामा महँगोसमेत रहेको जनाएको छ ।

नेपालमा माइला दाइ भनेर परिचित जापानका यशुके कुशेहवाको नेतृत्वमा कफी निर्यात हुँदै आएको छ । त्यसका लागि उहाँले गाउँगाउँमा जाने कफी उत्पादन किसानलाई तालिम दिने, प्रशोधनको विधि, त्यसबाट गुणस्तर कफी बनाउन कसरी काम गर्ने भन्ने विधिसमेत सिकाउँदै आएका छन् । आफूले कामको सिलसिलामा नेपालको ग्रामीण भेगमा पनि जाने अवसर पाएको र त्यहाँ कफी उत्पादन राम्रो देखिएपछि जापान लाने काम गरेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया