सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

जीवनमा सर्वसाधारण मानिस मात्र होइन ख्याति कमाएका महापुरुषहरु पनि बलिन्द्रधारा आँसु खसालेर रोएका छन् । जो सामान्य मानिस छ उ ब्यवहारिक जीवनमा पीडा र मर्मका चोटहरुमै रोइदिन्छ । बालकहरु त झन् यी भन्दा झिनामसिना कुरामै रुन्छन् । आफ्नो ब्यक्तिगत स्वार्थ रक्षाका लागि रुने संसारमा धेरै मानिस छन् । तर सामाजिक कल्याण र जनहितका पक्षमा द्रवित हुने महामानवहरु चाहिँ विश्वको जुनसुकै कुनामा पनि थोरै हुँदा रहेछन् । मान्छेको के कुरा ईश्वरले समेत दुखका चुडान्त क्षणमा अश्रुपुरित नेत्र उठाएर नियतिको दुर्दान्त खेल खेल्नुपरेका घटनामा पुराणहरुमा वर्णित छ । सतीदेवीको देहान्तपछि भगवान शंकर पागलजस्तै बनेर रोएका थिए । कृष्णका कतिपय लीलाहरुमा पनि आँसुको प्रसंग पढ्न पाइन्छ । बनवासी रामको आत्मा राजमहल निवासी हुँदासम्म पनि मुस्कुराउन पाएन । सीता र द्रौपदीजस्ता युगीन व्यक्तित्व बोकेका प्रखर नारीहरुले पनि आँसुको दिनचर्या भोग्नुपरेको थियो ।

भनिन्छ- बेंजामिन मोलाइसलाई दक्षिणी अफ्रिकाको जातिवादी गोरा सरकारले सन १९८५ मा फाँसीमा झुण्ड्याउँदा नेल्शन मण्डेलाले आफ्नो आँसु रोक्न सकेका थिएनन् । बेंजामिन दक्षिण अफ्रिकाको पहिलो देशभक्त सहिद कवि हुन् । त्यसबेला अफ्रिकी स्वतन्त्रता आन्दोलनका हिमायतीहरु उनका कविता ओठओठमा झुण्ड्याएर हिँड्थे । संयुक्त राष्ट्रसंघको विरोध हुँदाहुँदै पनि उनलाई अफ्रिकी सरकारले झुण्ड्याइदिंदा नेल्शन मण्डेलाले भनेका थिए- ‘मलाई आकाश यति अन्धकारमय कहिल्यै लागेको थिएन, जति बेंजामिन मोलाइसलाई फाँसीको सजाय दिएपछि लाग्दैछ । उनी हाम्रो वरिपरि प्रत्येक सासमा जीवित रहेका छन् ।’

भारत चीन सीमा युद्धका बेला दिल्लीको रामलीला मैदानमा आयोजित एउटा साँस्कृतिक समारोहमा लता मंगेसकरले गाएको राष्ट्रिय गीत सुनेपछि तात्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुले आफूलाई थाम्न सकेनन् । उनले रुँदै लतालाई भनेका थिए- बेटी तुने मुझे रुला दिया । हाम्रै सन्दर्भमा पनि सर्वोच्च नेता गणेशमानसिंहका आँसु धेरैले देखेको हुनुपर्छ । ठूला मानिसलाई परका भन्दा आफ्नै नजिकका मानिसले बढी रुवाउँछन् । मानवीय स्वभावको एउटा दारुण पक्ष के भने विरोधीहरुको प्रहारले कुनै पनि मनुष्यलाई कहिल्यै कमजोर तुल्याउँदैन, तर छातीमा आफन्तहरुले चोट लगाइदिए भने त्यसलाई सहन गर्न कठिन पर्दोरहेछ । पञ्चायतकालमा पद्मरत्न तुलाधरले गहभरि आँसु पारेर सम्पूर्ण विधायकहरुलाई कमसेकम अबदेखि भ्रष्टाचार नगरौं भनेर आह्वान गर्दा सारा पञ्चहरुले देशव्यापी रुपमा उनको खिल्ली उडाएका थिए ।

राष्ट्र र जनताको भलाईका लागि पवित्र आँसु खसाल्ने मानवतावादी व्यक्तित्वहरु सामाजिक विसंगतिबाट चिमोटिनु अस्वाभाविक होइन तर आफ्नो अनमोल जिन्दगीलाई तानाशाही संघर्षको क्रूर र कठोर दायराभित्र हुर्काउने जोसेफ स्टालिन जस्ता मानिसको ओठमा मुस्कान फुट्नु  र नजरमा पानी उम्रिनु भनेको चाहिँ आठौं आश्चर्य हो । डा. सर्वपल्ली राधाकृष्णले भारतीय राजदूतका रुपमा पूर्व सोभियत संघमा रहँदा त्यहाँका राष्ट्रपति जोसेफ स्टालिनलाई आख्यान यसरी सुनाएका थिए- हाम्रो देशमा एकजना सम्राट जीवनभर भयंकर खुंखार लडाईं लडेर वृद्धावस्थामा पुगेपछि सारा राजपाट त्यागी भिक्षु बनेका थिए । राष्ट्रपति महोदय ! तपाईं पनि रक्तपथको लामो यात्राबाट प्रभुताको यो महान सिंहासनमा आइपुग्नुभएको छ । भोलिका दिनमा यहाँ पनि हाम्रै देशको उक्त सम्राटजस्तो बन्न सक्नुहुन्न भनेर अहिल्यै कसले ग्यारेन्टी गर्न सक्छ – डा. राधाकृष्णको कुरा सुनेर स्टालिन जीवनमा पहिलोपल्ट दिल खोलेर मुस्कुराएका थिए । उनले भने- हो कहिलेकाहीं चमत्कार सिर्जना हुनसक्छ । म पनि ५ वर्षसम्म धर्मशास्त्रका स्कुलमा बसेको छु । बातचित सकेर राधाकृष्ण राष्ट्रपति भवन बाहिर निस्कँदा स्टालिनले आफ्नो दोभाषे पावलोबलाई बोलाएर भनेका थिए । राधाकृष्ण एउटा संकीर्ण देशभक्त मनुष्य होइनन् । उनको हृदय पीडित मानवताका लागि सधैं द्रवित हुने गर्छ । सन् १९५२ को ५ अप्रिलमा आफ्नो कार्यकाल समाप्त गरी भारत फर्किने बेलामा राधाकृष्णले स्टालिनसंग विदाईको गला मिलाएर उनको पिठ्यूँ सुमसुम्याउँदा स्टालिनको आँखामा आँसुको सागर उर्लिएको थियो । उनको अनुहार मलिन थियो र कण्ठ पनि अवरुद्ध । उनले आफ्न सजल नेत्र उचालेर भनेका थिए, तपाई पहिलो व्यक्ति हो जसले मलाई मनुष्य सम्झिएर मप्रति मानवीय व्यवहार गर्नुभयो । मलाई कहिल्यै पनि दानव ठान्नुभएन । तपाई हामी सबलाई छोडेर जाँदै हुनुहुन्छ । म चाहान्छु कि तपाईं दीर्घजीवी रहनुहोस् । अब म धेरै दिन बाँच्दिन । स्टालिन रोएको यस घटनालाई सारा विश्वले इस्पातको मानिस रोएको रुपमा स्वीकार गरेको थियो ।

नेपोलियन बोनापार्ट पनि ढुंगो र फलाम जतिक्कै कडा र अर्रोपन भएका निर्दयी मनुष्य हुन् । हिंसात्मक पराक्रममा लिप्त यी सैनिक योद्धा हृदय जोसेफिन नामकी एक विधवा महिलाप्रति अत्यन्तै दयालु र संवेदनशील थियो । जोसेफिन अत्यन्त धूर्त र अस्थिर चरित्रकी महिला हुन् भन्ने जान्दाजान्दै पनि नेपोलियन उनीप्रति यति आशक्त थिए कि एकपल्ट रणभूमिको विपरित परिस्थितिलाई ढालेर उनलाई भेट्न मिलान भन्ने ठाउँमा पुग्दा भेट्न नपाएपछि डाँको छोडेर क्वाँ क्वाँ रोएका थिए । आँसुले सम्भवत मानिसको मनलाई हलुका बनाउँछ । त्यसैले होला आफ्नो अन्तरमनलाई संवेदनशील पीडाका अब्यक्त वेदनाहरुले थिचेका बेला संसारको जुनसुकै मनुष्य पनि आँसुको सहारा लिने गर्छ । रुँदैमा लज्जा र हीनताबोध कसले कहाँ पो गरेको छ र ? भुक्तभोगीले त्यसै भनेका होइनन्- रुनु भनेको मनको मैलो धुनु पनि त हो नि ।***

 

तपाईको प्रतिक्रिया