Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नारायणगढ-मुग्लिन सडकको विकल्प खोज्ने औपचारिक प्रक्रिया सुरु भएको छ। गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने कार्यको प्रारम्भिक प्रक्रिया सुरु गरिएको हो। त्यसका लागि डिभिजन सडक कार्यालय भरतपुरले सडक विभागलाई स्वीकृतिको प्रक्रिया थाल्न पत्र पठाएको छ। विभागबाट मन्त्रालय हुँदै त्यसको स्वीकृति मन्त्रीपरिषद्बाट गर्नुपर्ने हुन्छ।

नारायणगढ–मुग्लिन सडकमा हरेक वर्ष पहिरो झरेर दुःख दिन थालेपछि गोरखापत्र दैनिकले गत असार १९ गते नारायणगढ-मुग्लिन सडकको विकल्पमा चार वटा निकास रहेको समाचार प्रकाशन भएको थियो। विज्ञहरूको तथ्यका आधारमा प्रस्तुत निकासको पहिलो विकल्पमा नारायणगढ–मुग्लिन सडकभन्दा त्रिशूलीपारिबाट गैँडाकोट–मुग्लिन सडक बनाउन सकिने समाचार प्रकाशन भएको थियो।

अहिले त्यही विकल्पमा प्रारम्भिक अध्ययनको बाटो खोलिएको हो। सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले वर्षैपिच्छे सडकमा पहिरो झरेर दुःख दिन थालेकाले यसको विकल्प सडक खोज्न लागिएको बताउनुभयो। “हामीले गैँडाकोटदेखि देवघाट–दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने गरी प्रक्रिया सुरु गरेका छौँ,” उहाँले भन्नुभयो, “सडक डिभिजन कार्यालयबाट आएको पत्रलाई हामीले छलफलको सूचीमा राखेका छौँ।”

सडक डिभिजन कार्यालयले गरेको प्रस्तावलाई सम्बन्धित विज्ञसँगको छलफलपछि मन्त्रीपरिषद्को बैठकमा प्रस्ताव गर्न भौतिक योजना मन्त्रालयमा पठाइने पनि उहाँले जनाउनुभयो। “गैँडाकोट–मुग्लिन सडकको अब अध्ययन हुन्छ। अध्ययन प्रतिवेदनका आधारमा परियोजना अगाडि बढाउने वा नबढाउने भन्ने निर्णय हुनेछ,” उहाँले भन्नुभयो।

यसअघि सडक विभागले नै डिभिजन सडक कार्यालय भरतपुरलाई वैकल्पिक सडकबारे अध्ययन गर्न निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा डिभिजन सडक कार्यालय भरतपुरले विभागलाई वैकल्पिक सडक बनाउन सकिने गरी राजमार्ग घोषणा गराउन प्रस्ताव अघि सारेको हो। डिभिजन सडक कार्यालय भरतपुरका डिभिजन इन्जिनियर रमेशप्रसाद पौडेलले नयाँ सडक बनाउनुपर्ने ठाउँलाई राष्ट्रिय सडक कायम गरिनुपर्ने पहिलो दायित्व भएको बताउनुभयो।

“राजमार्ग निर्माणका लागि पहिला राष्ट्रिय सडक घोषणा हुनुपर्छ। यो मन्त्रीपरिषद्ले निर्णय गर्ने विषय हो। सडक विभागले भौतिक योजना मन्त्रालयमा पत्र पठाएपछि सो सम्बन्धमा मन्त्रीपरिषद्मा छलफल भएर निर्णय गर्ने यसको प्रक्रिया हो,” उहाँले भन्नुभयो। नारायणगढ–मुग्लिन सडकको वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटर दूरी पर्छ। त्यसमा पनि गैँडाकोटदेखि दासढुङ्गासम्मको १६ किलोमिटर अहिले पनि सडक छ । -गोरखापत्र दैनिकबाट

तपाईको प्रतिक्रिया