Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कम्युनिष्ट आन्दोलनमै जीवन समर्पित गरेकी माओवादी केन्द्रकी सल्लाहकार सीता दाहालले आजबाट यो संसारबाट सदाका लागि बिदा लिएकी छन् । पार्किन्सन जस्ता विभिन्न रोगबाट विगत २ वर्षदेखि अचेत अवस्थामा रहेकी दाहालको बुधबार बिहान ८ः३३ बजे काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

दाहालको निधनप्रति उनको पार्टी माओवादी केन्द्र, नेपालका राजनीतिक दलहरू र समग्र देशवासीले नै दुःख व्यक्त गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको जन्म २०११ साल असार २१ गते कास्कीको हेम्जामा भएको थियो । आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको सन्तानका रूपमा जन्मिएकी दाहालको २०२६ सालमा कमरेड प्रचण्डसँग विवाह भएको थियो । वि.सं. २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार थिइन् । पार्टी कामका लागि पञ्चायती कालमा लामो समय भूमिगत जीवन बिताएकी दाहाल देशमा माओवादी जनयुद्ध सुरु भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहिन् ।

करिब १० वर्षसम्म चलेको माओवादीको भूमिगत सशस्त्र युद्धका वर्षहरूमा दाहालले सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी तथा अभिभावकीय भूमिका निर्वाह गरेकी थिइन् । पछिल्लो समय उनी पार्किन्सनजस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित हुँदै आएकी थिइन् ।हाल भरतपुर महानगरपालिका वडा नं १४ की स्थायीवासीका रूपमा रहेकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयरका रूपमा राजनीतिमा सक्रिय छिन् । अर्की छोरी गंगा दाहाल हाल प्रधानमन्त्रीको स्वकीय सचिवको रूप राजनीतिमा सक्रिय छिन् ।

कमरेड सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको छ। उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याएकी छन् । माओवादी सशस्त्र जनयुद्ध हाँक्ने कमान्डर प्रचण्डको जीवनलाई लयमा राख्न समेत एक पत्नीका रूपमा सीता दाहालले कमाण्डरकै भूमिका निर्वाह गरेकी थिइन् ।

सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समर्पण सीता दाहालका विशेषता हुन् । उनी आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनेछिन् ।

तपाईको प्रतिक्रिया