बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

हामी बसेको समाजको मनोविज्ञान वडो विचित्रको छ । त्यसकारण पनि हामीकहाँ समस्याहरुको चाङ अनपेक्षित बढ्दो छन् । हामीकहाँ पत्रकार न्यायाधीश बन्न खोज्छन्, वकिल डाक्टर बन्न खोज्छन्, नेताजी ठेकेदार बन्न खोज्छन्, शिक्षक नेता बन्न खोज्छन्, फुलटाइम बेरोजगारहरु महान समाजसेवी बन्न खोज्छन्, जसले म को हुँ भन्ने आफैलाई चिन्न सकेको छैन उसैले बडो फुर्तीका साथ हरेक दिन दुनियाँलाई अर्ति उपदेश दिईरहेको हुन्छ, जसलाई जुन बिषयमा रत्तिभर ज्ञान छैन उसैले त्यस बिषयको ज्ञाता बनेर समाजमा भ्रम छरिरहेको हुन्छ । बिषयवस्तु बारे के सहि र के गलत हो भन्ने अध्ययन नै नगरी अनुमानका आधारमा धारणा बनाई हाल्ने र सार्बजनिक गरिहाल्ने, त्यसैको आधारमा कसैलाई अति देवत्वकरण गर्ने र कसैलाई अति दानवीकरण गर्ने प्रवृत्ति अचाक्ली बढेको छ । यसैका कारण नेपाली समाज अहिले चिराचिरामा विभाजित अवस्थामा छ । नेपालीहरुबीच आपसी मेलमिलाप, भाइचारा र अपनत्वमा दरार उत्पन्न भईरहेको छ । कसैले कसैको झट्टै बिश्वास गरिहाल्ने स्थिति छैन । नेपाली समाजमा यो हदको खिया लागेको स्थिति यसअघि कहिलै अनुभव गर्नुपरेको थिएन ।

अपवाद बाहेक मानिसहरुमा अध्ययन गर्ने बानी पटक्कै छैन, ध्रुब सत्य कुरो के हो भने अध्ययन नै नगरी मानिसले उन्नत विचारको निर्माण गर्न सकिदैंन । अरुको कुरा सुन्न यहाँ कोही तयार छैनन् केवल आफु बोल्न पाए पुग्यो । आफ्नो कद अग्लो बनाउन अरुलाई होच्याउनै पर्दैन र अरुको अपमान गर्दा आफैतिर फर्केर आउँछ भन्ने हेक्का धेरैको दिमाखबाट हटिसकेको छ । धमिलिंदै गएको नेपाली समाजको बारेमा चिन्तन, मनन गर्नेहरु यहाँ कोही देखिदैनन् सबैलाई आफ्नै डम्फू बजाउनको हतारो छ । आफ्नो डम्फू सबैलाई यति प्यारो छ कि, आफु मात्रै ठीक, आफ्नो कुरो मात्रै सोह्रैआना ठीक अरु सब बेकार र फन्टुस् लाग्छ त्यसैले आफुले लिएको लाइन नै संसारकै सबैभन्दा उत्तम र उन्नत हो, अरु सबै गलत हुन् भन्ने अल्पज्ञानी सोच र संस्कार नै नेपाली समाजको अहिलेको सबैभन्दा डरलाग्दो रोग हो । यसैको बाछिटाले अहिले घरदेशदेखि परदेशसम्म जताततै भाँडभैलो, जताततै खैलाबैला, जताततै रडाको, जताततै विवाद, जताततै बेथिति, अराजकता र अनियमितताको डढेलो लागेको देखिन्छ । कुन राजाको पालामा के-कति थिति वा बेथिति बस्यो भन्ने जान्नलाई इतिहास पढ्ने गरिन्छ । त्यसरी नै समकालिन समाजका जिम्मेवार अगुवाहरुले कहिलेकाँही यतातिर पनि सोच्ने हो कि, खादामाला र आसनग्रहणको आत्मरतिमा मात्रै रमाएर बस्ने हो ?

हुन त यो रोग जानेर वा नजानेर हामीले नै हुर्काउँदै ल्याएका हौं, कारण बेलैमा यसको निराकरण गर्नतिर लागेनौ । समाजलाई सहि दिशातिर लैजान कसले के गर्नुपर्ला भन्ने बिषयमा हामीकहाँ कहिलै बहस हुन सकेन । जसले जे जानेको छ त्यहि गर्दै आयौं, सबैभन्दा बढि आ-आफ्नो डम्फू बजाउँदै आयौं, फलस्वरुप आजको अवस्थामा आईपुग्यौं । केही वर्ष याता हेर्ने हो भने हामीमा पदलोलुपताको भोक यति धेरै जागेको छ कि, कुनै एउटा मात्र पदमा चित्त बुझाएर बस्नु भनेको मानौ निजको कायरपन हो, हाम्रो आमबुझाईको धरातल यहि रह्यो । हुर्कदै गरेको अबको पुस्ताले हामीबाट के सिको गर्लान् ? त्यतातिर हामीले कहिले सोच्ने ?

हिजो र भोलिको माझ आज हो त्यसकारण यो महत्वपूर्ण छ । आजले वर्तमानको भाषा बोल्छ । आजको दिनमा पदासिन जिम्मेवार ब्यक्तिहरुले हामी बसेको समाज सुधारका लागि गम्भीर भएर सोच्नैपर्छ । सकिन्छ राम्रो गरौं, सकिदैन यो भन्दा नराम्रो नगरौं भन्ने वाक्यांशलाई मात्र मनन् गर्ने हो भने धेरै हदसम्म समाज सुध्रिन सक्छ । सत्य सँधै तीतो हुन्छ त्यसकारण बिझाउन सक्छ, आज पाएको जिम्मेवारीले आफैलाई कुरीकुरी भनिरेहेको चाल पाईदैन भने फेरि के का लागि अर्को जिम्मेवारी र पदको लागि मरिहत्ते गर्ने भन्ने बिषय अहिलेको प्रधान बिषय हो, प्रधान बिषयमै हामी अलमलमा छौं भने अन्य सहायक बिषयको हबिगत के होला र त्यस्ता अगुवाबाट समाजले के अपेक्षा गर्ने भन्ने गम्भीर सवाल जो हामीसामु अहिले पेचिलो बन्दै गईरहेको छ ।***

 

 

 

तपाईको प्रतिक्रिया