Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकता बचाउन नसकेकोमा दुखेसो पोखेका छन् । आइतबार ३४औँ स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन समुद्घाटन एवं प्रतिमा अनावरण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले नेकपा एमाले र माओवादी केन्द्रबीचको कम्युनिष्ट एकता बचाउन नसकेको भन्दै दुखेसो पोखेका हुन् ।

उनले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र आफूले नेकपा ब्युँताउने विषयमा छलफल गरिरहेको समेत बताए । ‘मैले तत्कालीन एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरूसँग एकता गर्न छिटोभन्दा छिटो हामीले आर्थिक समृद्धितर्फ र समाजवादतिर पनि जान सकिन्छ भनेको थिएँ । र कम्युनिष्ट एकता भयो पनि देशको सबैभन्दा ठूलो शक्ति झन्डै दुईतिहाइ प्राप्त पनि भयो जनता ठूलो उभार र उत्साह देखापर्‍यो प्रतिक्रियावादीहरूमा एउटा आतंक जस्तो भयो । अब कम्युनिष्टहरूले ४०/५० वर्ष कति वर्ष शासन लाने हुन् भन्ने भय थियो । तर, दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौँ । त्यो एकतालाई बचाएर राष्ट्र, जनता र समाजवादको हितमा जाने जो प्रचुर सम्भावना त्यो बचाउन सकिएन,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले अगाडि थपे, ‘सबैले चिन्तन गर्नुपर्‍यो कि हिजो के कारणले एकीकृत भएको कम्युनिष्ट आन्दोलन बच्न सकेन त्यहाँ विचारमा, राजनीतिमा, आचरण र संस्कृति र भावनामा कहाँ त्रुटि थियो । के प्रकृतिको कारण हाम्रो विभाजन भयो भन्ने कुराको गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने हामीले जमर्को गर्नुपर्छ । अहिले कमरेड माधव, मलगायत विप्लव, उपेन्द्रजीले समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकताबद्ध बनाउने पहल सुरु गरिसकेका छौँ । माधवजी र मैले के भनेका छौँ भने फेरि नेकपातिर फर्किनुपर्छ फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्ने कुरा पनि हामीले भनेका छौँ ।’

उनले विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहासमा एकता, संघर्ष विभाजनबाट गुज्रिदै अगाडि बढेको उदाहरण दिँदै फेरि एकपटक एकता गर्न सबैले चिन्तन गर्नुपर्ने बताए । नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यही नियमअनुसार नै अगाडि बढेकाले फेरि एकचोटि विचार गर्नु परेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

तपाईको प्रतिक्रिया