शनिबार, मंसिर १६, २०८०
Saturday, December 2, 2023

काठमाडौं – नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्कालाई एक वर्ष तीन महिना कैद सजाय तोकिएको छ । गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले उनलाई आज (शुक्रबार) सजाय सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले उनको घर जग्गादेखि बैंक मौज्दातसम्म जफत हुने फैसला गरेको छ ।

विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार अख्तियारले मागदाबी लिएबमोजिम खड्काको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, सेयरलगायतका सम्पत्ति जफत हुने भएका छन् । अख्तियारले २३ पुस ०७५ मा खड्काविरुद्ध मुद्दा चलाएको थियो । जसमाथि करिब पाँच वर्षपछि फैसला आएको हो ।

यस मुद्दाका अन्य प्रतिवादीहरूलाई जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकोमा उनीहरूको नाममा रहेको सम्पत्ति पनि जफत हुने फैसला भएको छ । गोपालसँगै उनकी श्रीमती शर्मिला खड्कालाई समेत प्रतिवादी बनाइएकोमा शर्मिलाका नाममा रहेको कित्ता नम्बर १५२२ र १४२३ मा रहेको घर समेत जफत हुने भएको छ ।

यसै मुद्दाकी अर्की प्रतिवादी अमिता लामा सोदेम्बाको नाममा रहेको जग्गासहितका सम्पत्ति पनि जफत हुने भएको छ । अख्तियारले सिजी डेभलपर्स प्रालिलाई पनि प्रतिवादी कायम गरेकोमा उक्त कम्पनीको सम्पत्ति पनि जफत हुने फैसला भएको छ ।

तपाईको प्रतिक्रिया