काठमाडौं – काठमाडौंको नक्सालबाट प्रहरीले एक जना बेहुलालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका–१ नक्सालस्थित एक पार्टी प्यालेसको मण्डपबाटै ती बेहुलालाई पक्राउ गरेको हो ।
सुनसरी दुहवी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई हाल काठमाडौं वडा नम्बर १३ ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए । उनकाअनुसार रौनियार अमेरिकाको ग्रीनकार्ड प्राप्त व्यक्ति हुन् ।
पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको भन्दै बिहे रद्द गर्ने निर्णय गरेको एसपी रिजालले बताए । उक्त विषयमा दुई पक्षबीच विवाद समेत भएको थियो । त्यसपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनाबारे बुझ्दा जन्तीलाई राम्ररी स्वागत नगरेको र ५० लाख रूपैयाँ दाइजो नपाएपछि बिहे नै रद्द गर्ने अडान लिएको खुलेको हो । बेहुलीलाई गाली बेइज्जती र हातपात समेत गरेको एसपी रिजालले बताए ।
बिहे खर्च बापत केटा पक्षले केटी पक्षबाट पटकपटक गरी २२ लाख रूपैयाँ लिइसकेको खुलेको हो । रौनियारलाई अहिले प्रहरी वृत्त मालिगाउँमा राखिएको छ। प्रहरीले रौनियारमाथि विवाह सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको छ ।