काठमाडौँ – सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रलगायत चार दलले ‘समाजवादी’ मोर्चा गठन गरेसँगै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसहित गठबन्धनभित्रैका अन्य चार दलले पनि छुट्टै मोर्चा बनाउने तयारी गरेका छन् ।
सोमबार मात्रै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले मोर्चा गठन गरेका थिए । सो मोर्चामा सहभागी नगराइएका अन्य चार दलले ‘समाजवादी’ मोर्चालाई काउन्टर दिँदै छुट्टै मोर्चा बनाउने तयारी गरेका हुन्।
नयाँ मोर्चामा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरीको संरक्षकत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी र प्रभु शाह नेतृत्वको आम जनता पार्टी सामेल हुने भएका छन् । प्रतिनिधिसभामा नेसपासँग दुई, जनमत पार्टीसँग ६, नागरिक उन्मुक्तिसँग चार र आम जनता पार्टीसँग एक सिट छन् ।