बुधबार, आषाढ ०५, २०८१
Wednesday, June 19, 2024

काठमाडौं – विश्वव्यापी मन्दीका कारण नेपालको प्रत्यक्ष वैदेशिक लगानी चालु आर्थिक वर्षमा निराशाजनक रहेको छ। यो आवको जेठसम्म कुल ३४ अर्व ५८ करोड वैदेशिक लगानी स्वीकृत भएको छ । वर्ष सकिन एक महिना बाँकी रहँदा वैदेशिक लगानी स्वीकृति गत वर्षभन्दा निकै कम हुने देखिएको छ ।

जेठमा सुधारसँगै थपिएको ४ अर्ब ९६ करोड लगानी प्रतिबद्धताले यस क्षेत्रमा केही राहत देखिए पनि गत वर्षको लक्ष्य भेट्न असारमा मात्र १९ अर्व ५७ करोड लगानी थपिनुपर्ने अवस्था छ । गत आवमा कुल ५४ अर्व १५ करोड लगानी स्वीकृत भएकोमा जेठसम्म ३४ अर्ब ५८ करोड स्वीकृत भएको छ । असारमा प्रतिदिन ६३ करोड १२ लाख लगानी भित्रिए मात्र गत वर्षको बराबर हुनेछ ।

चालु आवको असोजमा १ अर्ब ८५ करोड लगानी स्वीकृत भएकोमा त्यसपछि लगातार मन्दी देखिएसँगै जेठमा केही सुधार आएको छ । उद्योग विभागको तथ्यांकअनुसार जेठसम्ममा विभिन्न देशका लगानीकर्ताले २७४ वटा उद्योग दर्ता गरी ३४ अर्व ५८ करोड ४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता जनाएका छन् ।

विभागका अनुसार सुरुदेखि चालु आवको जेठसम्म कुल ४ खर्च ५३ अर्व ८४ करोड लगानी स्वीकृत भएको छ । जेठमा सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) गरी १५ वटा उद्योगमार्फत ७ करोड ३१ लाख रुपैयाँ लगानी प्रतिद्धता आएको छ । यो अवधिमा १२६ वटा उद्योगमा एसपीए, एसएसएस र टीटीएमार्फत १५ अर्व ३८ करोड ३७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ ।

विभागले जेठमा विदेशी लगानी प्रतिबद्धता जनाउने ३०२ जना लगानीकर्ताले विजनेस भिसाका लागि सिफारिस गरेको छ, जसमा ४४ जना प्रतिनिधि र १३४ जना डिपेन्डेन्ट भिसाका लागि सिफारिस भएका हुन् । –कारोबार दैनिकबाट

तपाईको प्रतिक्रिया