काठमाडौं – लामो छलफलपछि अन्ततः समाजवादी मोर्चा आज घोषणा हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको हो ।
राजधानीको राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम तय भएको छ । समाजवादी मोर्चामा सत्तारुढ दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहने निश्चित भएको छ ।
मोर्चामा सहभागी हुने भनिएका वामदेव गौतमले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर आफ्नो व्यवस्थापन भए समाजवादी मोर्चामा नजाने बताएपछि उनी एमालेमै फर्किने सम्भावना बढी रहेको छ ।
डा. बाबुराम भट्टराईको समाजवादी पार्टी भने छलफलमै रहेको र तत्काल मोर्चामा सहभागी हुने विषयमा स्पष्ट भइसकेको छैन । समाजवादी मोर्चामा रहेका दलबीच आलोपालो नेतृत्व गर्ने यसअघि नै सहमति भइसकेको छ ।