काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको हिन्दू धर्म ग्रन्थ रामारणमा आधारित भारतीय फिल्म ‘आदिपुरुष’का निर्माताले ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद सच्चाएका छन् ।
काठमाडौंभित्र कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)को चेतावनीपछि फिल्मका मेकरले उक्त संवाद हटाएको भारतीय मिडियाहरुले बताएका छन् । भारतीय मिडियाहरुले फिल्ममा प्रभासले बोलेको ‘जानकी भारतकी बेटी हैं’ भन्ने संवादलाई लिएर नेपालमा आपत्ति जनाइएपछि मेकरले विवादबाट टाढा रहन उक्त संवाद हटाउने निर्णय गरेको उल्लेख गरेका छन् ।
नेपालमा फिल्म प्रतिबन्ध हुने भयले नै मेकरले उक्त संवाद हटाएको टाइम्स नाउले उल्लेख गरेको छ । तर, फिल्मबाट उक्त संवाद हटाइएको आधिकारीक जानकारी भने निर्माण टिमले दिएको छैन ।
नेपाली सिनेमा हलहरुमा शुक्रबार बिहानका शो हरु नचलेपनि अपराहन्नका शोहरु सुचारु भएको हो । क्युएफएक्सलगायतका सिनेमा चेनले अपराहन्नका शोको बुकिंग खोलेका छन् ।