काठमाडौं – खुकुरी प्रहार गरी दाइको हत्या गरेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२३का ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेको आरोपमा २५ वर्षीय सुरज शाक्यलाई पक्राउ गरिएको हो ।
दाइ र भाइबीच झगडा भएपछि दाइको टाउकोमा खुकुरी प्रहार गरी भागेका सुरजलाई काठमाडौं महानगरपालिका वडा नम्बर २५ सिघलमा लुकिछिपी बसेको अवस्थामा आज बिहान पौने १० बजे पक्राउ गरिएको जनसेवा प्रहरीका डिएसपी भेषराज रिजालले बताए । प्रहरीले घटनास्थलबाट शवको पोष्टमार्टमका लागि अहिले अस्पताल लगिसकेको छ ।
मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरी रातको करिब १२ बजे दाइको हत्या गरेका थिए । घटनाबारे परिवारका सदस्यहरूलाई राती नै थाहा भएको भएपनि प्रहरीलाई भने बिहान मात्रै जानकारी आएको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डीएसपी भेषराज रिजालले बताए । सुरजमाथि थप अनुसन्धान भइरहेको छ ।