शुक्रबार, मंसिर १५, २०८०
Friday, December 1, 2023

काठमाडौं – खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसनका संस्थापक मदन राईविरुद्ध ३ वर्ष कैद माग गर्दै अदालतमा मुद्दा दायर भएको छ । बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले आइतबार अदालतमा मुद्दा दायर गरेको हो ।

७५ वर्षीय राईलाई थुनामा राखेर मुद्दाको फैसला गर्ने कि धरौटी वा साधारण तारेखमा छोडेर भन्ने आदेश हुनेछ । राईले बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेको आरोप छ । बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग) ,(ङ) कसुर गरेकाले, दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय गर्न माग गरिएको छ ।

जसमा ७५ हजार रुपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। राईलाई वैशाख २९ गते प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको थियो । फाउण्डेसनमै अध्ययन गरेकी बालिकाले उनीविरुद्ध यौन दुर्व्यवहारको आरोपमा जाहेरी दिएकी थिइन् । राईले भने यौन दुरुपयोगको नियतले नभई यौन शिक्षा दिने उद्देश्यले त्यस्ता गतिविधि गरेको बयान दिएका छन् ।

  • मदन राईको बयानको अंश :-

लजाउने, डराउने र राम्रीहरू बढी बलात्कृत हुने हुनाले निजहरूलाई अलि विशेष जोड दिई यौनको विषयमा शिक्षा दिने गरेको छु । यसै क्रममा निजहरूको संवेदनशील अंग, स्तन, योनीलगायत अंगहरूको बारेमा संकेत गरी आफैले हेर बुझ भन्दै पढ्न लगाई एकपटक म आफू स्वयम एसेम्लीमा गई कपडा खोली नाङ्गो भएर लिङ्ग लगायत शरीरको संवेदनशील अंग देखाएको हुँ । यी क्रियाकलापहरू शिक्षा सिकाइका प्रक्रिया हुन् ।

बालबालिकाहरू भएको स्थानमा यौनाङ्ग देखाउनु, छुनु कानुन विपरीतको कार्य हो भन्ने थाहा छ । तर बालबालिकाहरूलाई यौनाङ्ग भनेको मानिसको शरीर भित्र भएका तरल विकार पदार्थहरू निकाल्ने मुख्य द्वार भएको हुनाले सो कुराको बारेमा उनीहरूलाई जानकारी हुनुपर्छ भनी मैले यौनाङ्ग आफैले समाई छोई हेर, बुझ भनी सिकाएको हुँ ।

तपाईको प्रतिक्रिया