काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको नेता राजेन्द्र लिङ्देनले लामो समयसम्म प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणअघि किन प्रमाणीकरण गरियो भन्दै यस विषयमा सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।
उनले नागरिकता मात्रै नभएर राष्ट्रपतिले आममाफी दिएको विषयमा पनि आपत्ति रहेको बताएका छन् । ‘भारत भ्रमणसहितको विषय प्रधानमन्त्रीले जवाफ नदिन्जेल यो संसद अघि बढ्न सक्दैन,’ लिङ्देनले भने ।’
उनले राष्ट्रपति मन्त्रिपरिषदको कारिन्दा हुन नसक्ने टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै राप्रपाको संसदीय दलका नेता समेत रहेका लिङ्देनले भने, ‘राष्ट्रपति कार्यालय मन्त्रिपरिषदको आज्ञापालक हैन, राप्रपाले राष्ट्रपति संस्था संवैधानिक हिसावले पनि निष्पक्ष हुँदैन, हामीले यसलाई जतिसुकै निष्पक्ष भनेपनि यो अभिभावक हुन सक्दैन ।’