काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३ जनाको बयान आज लिइने भएको छ । जिल्ला अदालत काठमाडौँमा खाँणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान आज लिइने भएको बताइएको छ ।
बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र शमशेर मियाँले बयान दिएका थिए । योसँगै १८ जनामध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १५ जनाको बयान सकिएको छ । प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि थालिएको थियो ।
बिहीबार पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित नेता टोपबहादुर रायमाझीसहित तीन जनाको बयान सकिएको थियो । यस प्रकरणमा १२ जना अझै फरार छन् ।
बयान सक्न अझै केही दिन लाग्नेछ । बयान सकिएपछि मात्र थुनछेक बहस सुरु हुनेछ । बहस सुनिसकेपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्नेछन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जनालाई पक्राउ गरी यो घटनामा अनुसन्धान सुरु भएको थियो ।