बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो – घुम्टे युवा परिवार जापानले दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । आगामी जुलाई २४ तारिख सोमबार दिन प्रतियोगिता हुने तय भएको हो ।

सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आफ्नो छुट्टै पहिचान स्थापित गरेको क्लबले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, संवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाइराख्ने उद्देश्यका साथ सो प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष दिनेश थापाले बताए । घुम्टे युवा परिवारको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन कायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरी युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य रहेकोले त्यसैको पृष्ठभूमिमा रही प्रवासमा रहेका खेलाडीहरूको हौसला वृद्धि गर्न शाखाले आवश्यकता देखेकोले प्रतियोगिताको आयोजना गरिन लागेको अध्यक्ष थापाको भनाई छ ।

प्रतियोगितामा जापानमा रहेका विभिन्न सामाजिक संघ संस्था लगायतबाट उत्साहपूर्ण रूपमा प्रतियोगी टिमको सहभागिता रहने उनले बताए । ‘प्रवासमा रहेरपनि भलिबल खेललाई निरन्तरता दिन प्रतियोगिताको आयोजना गरिएकोले सहभागिताको लागि सबैमा अनुरोध गर्दछौँ,’ अध्यक्ष थापाले भने ।

गतवर्ष सञ्चालन गरिएको प्रथम सिल्भर कप प्रतियोगिताको अनुभव र सिकाइलाई ध्यानमा राखेर जापानमा सञ्चालन गरिने अन्य भलिबल प्रतियोगितालाई समेत नमूना प्रस्तुत गर्ने गरी क्लबले खेल सञ्चालन गर्न आवश्यक तयारी गरिने क्लबका का सचिव तुलवीर थापाले बताए । प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख २० हजार नगदसहित सिल्भर रनिङ कप,प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई २ लाख २० नगदसहित ट्रफी मेडल र प्रमाणपत्र, र सान्त्वना दुई टिमलाई नगद ५१ हजारसहित प्रमाणपत्रको पुरस्कार रहेको छ ।

प्रतियोगिता ५ विधाका ५ जनालाई उत्कृष्ट छनोट गरी नगद, प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिनेछ । सहभागिताको लागि टिम दर्ता गर्न ४० हजार तोकिएको छ । भने खेल 〒144-0031 東京都大田区東蒲田1丁目11−1 मा रहेको Ota City General Gymnasium को खेल मैदानमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ । खेल प्रतियोगिताको टाईसीट जुलाई २३ तारिख ५ बजे सार्वजनिक गरिने खेल संयोजक मनोज केसीको भनाई छ ।

तपाईको प्रतिक्रिया