बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – एकताका नेपाली युवाहरूको श्रम गन्तव्य खाडी मुलुक थियो । रोजगारीका लागि विदेश जाने कुल सङ्ख्याको आधाभन्दा बढी खाडीका विभिन्न मुलुक पुग्थ्यो । तर अब त्यो विगत फेरिएको छ ।

कोभिड महामारीपछि युरोप जाने क्रम बढेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजन पोखरेल युरोपमा नेपाली श्रमिकका लागि राम्रो अवसर भएको बताउँछन् । उनकाअनुसार पछिल्लो समय युरोपेली देशबाट २० हजार कामदारको माग आएको तर युरोपका सबै देशमा दूतावासमा नभएको हुँदा माग प्रमाणीकरण गरेर पठाउन समस्या छ । प्रमाणीकरणलाई सहज बनाउन निर्देशिका तयार गरेर कानुन मन्त्रालयको राय लिएर परराष्ट्र मन्त्रालयमा पठाइएको छ । मन्त्रालयबाट आउनेबित्तिकै मन्त्रीपरिषद्मा पठाउने सहसचिव पोखरेलको भनाई छ ।

युरोपमा आकर्षक तलबमा दक्ष श्रमिकको राम्रो माग छ । पारिश्रमिक र सेवासुविधा पनि राम्रो छ । मुलुकमा भित्रिने विप्रेषण पनि बढ्छ । ‘निर्देशिका स्वीकृति भएर आएपछि युरोपियन मुलुकमा ठूलो सङ्ख्यामा नेपाली श्रमिक पठाउन सरकारले सहजीकरण गर्छ,’ उनले भने, ‘अब युरोपका विभिन्न मुलुकसँग श्रम सम्झौता गरेर श्रमिक पठाउन सकिन्छ ।’

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर पनि क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता थुप्रै युरोपेली मुलुकमा जाने गरेका छन् । तथ्यांकअनुसार गत फागुनमा वैदेशिक रोजगारमा ६१ हजार ४७४ जना गएको देखिन्छ । गत आर्थिक वर्ष क्रोएसियाका लागि पाँच हजार ३४४ जनाले श्रम स्वीकृति लिएका थिए । साइप्रसका लागि चार हजार १८१, फ्रान्सका लागि १६४, माल्टाका लागि एक हजार ९१५, पोल्यान्डका लागि एक हजार ८५५ र रोमानियाका लागि सात हजार ४७५ जनाले श्रम स्वीकृति लिएका थिए । गत वर्ष कुल छ लाख ३० हजारले श्रम स्वीकृति लिएका थिए ।

वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङले सरकारले सहज रूपमा युरोप रोजगारीमा जाने वातावरण सिर्जना गर्न सके भ्रमण भिसामा गएर अवैध रूपमा काम गर्नेको सङ्ख्या पनि घट्ने बताए । वैदेशिक रोजगार व्यवसायीले पछिल्लो पटक युरोपमा नेपाली श्रमिकको माग बढेको बताउँदै आएका छन् तर मागपत्र प्रमाणीकरण गरिदिने दूतावासहरू सम्बन्धित मुलुकमा नहुँदा नेपालीले अवसर गुमाउनु परेको गुनासो व्यवसायीको छ ।

तपाईको प्रतिक्रिया