बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – भारतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो शहरहरुमा अन्तर्राष्ट्रिय उडानको अनुमति दिन आनाकानी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुद्ध एयरले पोखराबाट पहिलो चरणमा बनारस (वारणासी)मा र त्यसपछि दिल्ली र देहरादुनका अन्तर्राष्ट्रिय विमानस्थलहरुमा उडान गर्न अनुमति मागेको थियो ।

हाल काठमाडौंबाट बनारस उडान गरिरहेको बुद्ध एयरले भारतका पर्यटकीय शहरहरुमा पोखराबाट उडान गर्ने योजना बनाएर नेपाल नागरिक उड्डयन प्राधिकरणको सहमतिमा नागरिक विमानन महानिर्देशनालय (डीजीसीए)सँग अनुमति मागेको थियो । अहिलेसम्म भारतले बुद्धको प्रस्तावलाई ‘निर्णय प्रक्रियामा रहेको’ जवाफ दिएर टारिरहेको छ ।

गत बुधबार नयाँ एयर रुट र एयर स्पेसबारे छलफल गर्न भारत गएको नेपालको सरकारी टोली निराश भएर फर्किएको छ । भारतले पुरानै शैलीमा ‘हेरौंला र प्रक्रियामा छौं,’ भन्नेजस्ता जवाफमै वार्ता सकाएपछि प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’को भारत भ्रमणअघि नयाँ एयर रुटको विषय टुंगो लगाउने नेपालको प्रयास असफल भएको हो । १७ जेठदेखि हुने प्रधानमन्त्रीको पुष्पकमल दहाल प्रचण्डको भारत भ्रमणभन्दा अघि भारत पुगेर सहमति गर्दै नयाँ एयर रुटलाई प्रधानमन्त्री भ्रमणको एजेन्डा बनाउन खोजिएको थियो । तर त्यो सफल हुन सकेन ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल भारतमा गरिएका छलफलहरु निष्कर्षमा नपुर्याइ फर्किनु परेको हो । भ्रमण टोलीमा सहभागी एक अधिकारीका अनुसार वार्तामा भारतले आफ्ना चासोहरु व्यक्त गरेपनि कुनै औपचारिक समझदारी गर्न चाहेन । ‘नमिलेका विषयहरु टुंग्याउन कुनै समझदारीपत्र ९एमओयू०मा हस्ताक्षर भएन,’ प्राधिकरण स्रोतले भन्यो, ‘भैहरवा र पोखरालाई सहज हुने रुट दिनेबारे भारतीय उदाशीनता फेरि प्रष्ट भयो, हामी रित्तै हात फर्कियौं ।’

नेपालले महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट प्रवेश विन्दुसहित एयर रुट माग गर्दै आएको छ । भारतले नेपालबाट उड्ने विमानलाई महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट आफ्नो आकाशमा प्रवेश गर्न रुट खुला राखेको छ । ती विन्दुबाट नेपाल प्रवेश गर्ने अनुमति दिन भने वर्षौंदेखि आनाकानी गरिरहेको छ । अहिले नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सिमरा ‘गल्फ ५९८’ प्रवेश विन्दु मात्र प्रयोग गर्दै आएका छन् । यो प्रवेश विन्दुमार्फत काठमाडौं र भविष्यमा संचालनमा आउने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मात्र उपयुक्त छ ।

३२ अर्बभन्दा बढी लागतको भैरहवा विमानस्थल र महँगो चिनियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पश्चिम नेपालका हवाई प्रवेश विन्दुसहितका रुट अत्यावश्यक छ । भारतले पश्चिमबाट एयर रुट दिए यो विमानस्थलमा उडान गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरु आकर्षित ती विमानस्थलका अधिकारीहरु बताउँछन् ।तर, भारतले नयाँ एयर रुट दिन आनाकानी गर्ने क्रम ७ वर्षदेखि जारी छ ।

तपाईको प्रतिक्रिया