शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – लोकगीत र आधुनिक गीतका लोकप्रिय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने रमाइलो म्युजिक एक्सप्रेस कार्यक्रमको तयारी पुरा भएको छ ।  आयोजक आयोजक पर्वत समाज जापानकाअनुसार टोकियोस्थित नाकानोमा आइतबार हुने म्युजिक एक्सप्रेसको तयारी पूरा भएको हो ।

लोक दोहोरी तथा आधुनिक गीतका लोकप्रिय गायक विमलराज क्षेत्री सहित चर्चित गायक कुलेन्द्र विश्वकर्मा, पछिल्लो समय धोकेबाज गीत मार्फत छुट्टै परिचय बनाएकी चर्चित गायिका एलिना चौहान र लोक दोहोरी गायिका सुस्मिता क्षेत्रीले आइतबार साँझ ६ बजेबाट सुरु हुने रमाइलो म्युजिक एक्सप्रेसमा आफ्ना पुराना तथा नयाँ लोकप्रिय दुई दर्जन बढी गीत गाउने भएका छन् ।

कार्यक्रमको प्रचारप्रसार, म्युजिक तथा अन्य आवश्यक व्यवस्थापनका काम सकिएको छ । कार्यक्रमको लागि हालसम्म १ सय ५० बढी टिकट बिक्री भइसकेको तथा करिब ५० वटा टिकट कार्यक्रम स्थलमा लिनेगरि बुकिगं आएको आयोजकले जनाएको छ । धेरै व्यक्तिहरूले टिकट बुकिगं नगराई कार्यक्रम स्थलमानै आएर टिकट लिन जानकारी गराएकाले कार्यक्रम स्थल हाउसफुल हुने देखिएको आयोजकको भनाई छ ।

सांगीतिक कार्यक्रममा लोकदोहोरी सम्मान स्वरूप जापानबाट नेपाली लोक तथा दोहोरी गीत, गायन तथा सृजनामा विशेष योगदान पुर्‍याउँदै आएका तीन जना स्रष्टालाई विशेष सम्मान गरिन लागिएको पर्वत समाज जापानका प्रवक्ता रविन शर्माले जानकारी दिए ।  यसरी सम्मानित हुन लागेकाहरूमा गायक तथा सर्जक रामकृष्णबम मल्ल, लोक दोहोरी गायक तथा सर्जकद्धय युवराज आचार्य र सूर्य खड्का छन् । उनीहरूलाई पर्वत समाज जापान लोक दोहोरी गीत संगीत सम्मान २०८० बाट सम्मानित गरिने शर्माको भनाई छ ।

कार्यक्रम आयोजनामा जापानमा रहेका व्यवसायी, संघसंस्थाका पदाधिकारीहरूसहित समाजसेवी लगायत सबैबाट अपेक्षा गरेअनुसार राम्रो साथ, सहयोग र समर्थन पाएको बताउँदै आयोजक संस्था पर्वत समाज जापानका अध्यक्ष सुभाष लामिछानेले कार्यक्रम भव्य रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ, कलाकारहरू एक हप्ता पहिलेनै जापान आइसकेका छन् । ‘प्रचारप्रसार सहित टिकट बिक्री समेत भइसकेको र जापानमै पहिलो पटक लोकदोहोरी विशेष सम्मान गर्न लागेका छौँ,’ अध्यक्ष लामिछानेले भने, ‘कार्यक्रम तोकिएकै समयमा सुरु हुने भएकाले सबैलाई समयमै उपस्थित भइदिनुहुन निमन्त्रणा सहित अनुरोध गर्दछु ।’

तपाईको प्रतिक्रिया