बुधबार, मंसिर २०, २०८०
Wednesday, December 6, 2023

काठमाडौं – नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले रास्वपा नेता यज्ञमणी न्यौपानेमाथि अन्तर्वार्ताको क्रममा स्टुडियामै हातपात गरेका छन् । युवराज र न्यौपाने गेष्ट भएको कार्यक्रममा उनीहरुबीच तार्किक घम्साघम्सी हुँदा युवराजले हात हालेका हुन् ।

प्राइम टाइम टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘जनता जान्न चाहन्छन् कार्यक्रममा सफलले अधिवक्तामाथि हात उठाए । शुक्रबार टेलिभिजनबाट प्रसारित उक्त कार्यक्रमको सुरुवातमै धमलाले सफललाई मुद्दा हाल्ने, त्यो पनि रवि लामिछानेविरुद्ध भनेर परिचय गराउँदै त्यसैबाट छलफल अघि बढाएका थिए । जवाफमा सफलले रविको मात्र नभएर अन्यका विरुद्ध पनि आफूले मुद्दा हालिरहेको तर्क गरे । त्यसपछि धमलाले सफललाई पुनः अर्को प्रश्न गर्दै पछिल्लो समय रविप्रति पूर्वाग्रही देखिएको आरोप लगाए । यसमा उनले कसले यस्तो प्रश्न गर्यो ? जनतालाई सोध्नुस्, ल फोन गर्नुस् भन्छन् ।

यसपछि लामिछानेले न्यौपानेलाई सफलको कामलाई कसरी व्याख्या गर्नुहुन्छ भन्ने प्रश्न गर्छन् । त्यसक्रममा न्यौपानेले अदृश्य शक्तिबाट परिचालित व्यक्ति भएको टिप्पणी गर्छन् । यस्तो टिप्पणी गरेलगत्तै त्यसको तर्कद्वारा प्रतिवाद गर्न छाडेर सफल आक्रमणमा उत्रिन्छन् । यसक्रममा उनले न्यौपानेको कुममा हातले प्रहार गरेको देख्न सकिन्छ । आक्रमणपछि पनि सफलको आक्रोस मत्थर हुँदैन, उनी निकैबेर उक्त आरोप प्रमाणित गर्न चुनौती दिइरहन्छन् ।

सफलले अमर्यादित हर्कत टेलिभिजनको पर्दामा देखाइरहँदा रास्वपाका नेतासमेत रहेका न्यौपाने भने निकै संयमित र मर्यादित देखिएका छन् । कुनै आवेग नदेखाइ उनले त्यसको शालीनतापूर्वक प्रतिवाद गरिरहन्छन् । धमलाले झगडा साम्य पारेर अघि बढाउने प्रयास योबीचमा नगरेका होइनन् । तर न्यौपानेले सफलले हातपात गरेकोप्रति माफी माग्नुपर्ने अडान लिएपछि समाधान निस्किँदैन, कचिंगल चलिरहन्छ । रोचक त के भने ठूलै बहादुरी गरेजस्तो टेलिभिजनका अतिथिबीचको झगडालाई जस्ताको तस्तै दर्शकलाई देखाइएको छ ।

चतुर धमला लामो प्रयासपछि भुटानी शरणार्थी प्रकरण प्रवेश गराएर विषयान्तर गर्न सफल हुन्छन् । यसअघि सफलले माफी नमागेसम्म नबोल्ने बताएका न्यौपाने यो विषय आएपछि भने स्वाभाविक लयमा छलफलमा सहभागी हुन्छन् । अघि उत्तेजित बनेर हातपातमा उत्रिएका सफल पनि अघिल्लो विषय छाडेर कुरा गर्न तयार हुन्छन् ।

तपाईको प्रतिक्रिया