बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – गत बैशाख १ गते प्रदर्शनमा आएको फिल्म ‘जारी’पछि हलहरु चकमन्न छन् । हरेक हप्ता फिल्म प्रदर्शन त भैरहेका छन् तर कुनैले दर्शक तान्न सकेका छैनन् । यसबीच, फ्राइडे रिलिज अन्तर्गत यो हप्ता दुई फिल्म ‘हुक्का : एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आएका छन् । दुवै फिल्मले समान हिसाबमा मल्टीप्लेक्सहरुमा शो पाएका छन् भने सिंगल थिएटर पनि बराबर जस्तै मिलेको छ ।

एक महिनादेखि सुनसान रहेका हलमा दर्शक फर्काउन यी दुवै फिल्मलाई ठूलो चुनौती छ । त्यसमाथि अहिले देशमा आर्थिक मन्दी उत्कर्षमा छ । मानिसहरु मनोरञ्जनका लागि पैसा गर्ने मनस्थितिमा देखिएका छैनन् । यो अवस्थामा दुवै फिल्मलाई बक्सअफिसमा सुखद अंक जोड्न सहज पक्कै छैन । तथापि, बलियो ‘वर्ड अफ माउथ’ मिलेको खण्डमा हलसम्म दर्शक आकर्षित हुन सक्छन् ।

शम्भु थापाको निर्देशनमा बनेको ‘हुक्का : एन एब्सर्ड ड्रिम’मा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिसा गुरुङ, निश्चल विमललगायतको अभिनय रहेको छ । सन्तोषकुमार आत्रेयले लेखेको कथालाई उनीसँगै भगवान पौडेलले पटकथामा ढालेका हुन् । फिल्मले हुक्काको माध्यमबाट नेपाली समाजको मनोविज्ञानलाई प्रस्तुत गर्ने प्रयास गरेको छ ।

देव थापाद्वारा निर्देशित ‘टुल्की’ भने बहुपति प्रथामा निर्माण भएको हो । शेखर लामा प्रस्तुतकर्ता रहेको फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने आदिको अभिनय छ । हिमाली जिल्ला डोल्पामा छायांकन भएको फिल्ममा सुशील अधिकारी र नवराज घिमिरेको छायांकन छ ।

 

तपाईको प्रतिक्रिया