Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – जेठ १० गते ३० जना विरुद्ध दायर भएको अभियोगपत्र अनुसार ‘कोर टीम’ का सदस्य हुन्, इन्द्रजीत राई। तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकारका रूपमा गृह प्रशासनमा भित्रिएका राईले नक्कली भुटानी शरणार्थी प्रकरणमा रकम समेत कुस्त भित्र्याएको देखिएको छ। अनुसन्धान अधिकारीसँगको बयानमा राईले बताए अनुसार विशिष्ट श्रेणीको सेवा सुविधा भोग गर्ने गरी उनले गृहमा तीन वर्ष ६ महीना बिताए। २०७५ असारदेखि गृह मन्त्रालयमा सुरक्षा सल्लाहकार बनेका राई गृहमन्त्री थापाको कार्यकाल रहुन्जेल २०७८ असार २८ गतेसम्म बहाल थिए।

यो पदबाट हट्नुभन्दा तीन महीनाअघि र तीन महीनापछिका उनका ब्यांकिङ कारोबारमा भने आश्चर्यजनक फरक देखिन्छ। २०७८ वैशाख २१ देखि २०७८ असोज १७ को अवधिमा उनको ब्यांक खातामा चार करोड ९२ लाख ३८ हजार रुपैयाँ जम्मा भएको अभियोगपत्रमा खुलाइएको छ। नेपाल इन्भेस्टमेन्ट मेघा ब्यांकमा रहेका राईका दुई वटा खातामा याे रकम जम्मा गरिएको पाइएको हो। राई परिवारको अचल सम्पत्ति पनि यही अवधिमा ह्वात्तै बढेको अनुसन्धानमा देखिएको छ। उनी गृह मन्त्रालयमा नियुक्ति भएको एक वर्षपछिका लगातार तीन वर्ष यो परिवारले काठमाडौं उपत्यकामा जग्गा जोडेको छ। २०७६ असोजमामा आठ आना, २०७७ असारमा चार आना र २०७८ वैशाखमा अर्को चार आना जग्गा यो परिवारले जोडेको छ। यी सबै जग्गा राईकी पत्नी भुवन देवीको नाममा रहेको अभियोगपत्रमा उल्लेख छ।

२०७७ सालमा किनेको जग्गाको मोल अभियोगपत्रमा उल्लेख छैन। २०७८ सालमा किनेको जग्गाको मूल्य एक करोड ८३ लाख रुपैयाँ छ। यसरी यो परिवारले तीन वर्षको अवधिमै करीब तीन करोड रुपैयाँ बराबरको जग्गा मात्रै जोडेको छ।राईका छोरा निरजलाई पनि यो प्रकरणमा विपक्षी बनाइएको छ। उनी अहिले फरार सूचीमा छन्।गृहमन्त्रीका सल्लाहकार राई निर्णयकर्ता एवं प्रमुख योजनाकारको भूमिकामा देखिएको अभियोगपत्रमा उल्लेख छ।

पक्राउ परेका अर्का अभियुक्त एवं पूर्व उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी, गिरोहका सदस्य केशव दुलाल, सानु भण्डारीले राई मार्फत नीतिगत निर्णय गराउने गरेको पाइएको छ। २०७६ जेठमा गठन भएको बालकृष्ण पन्थी कार्यदल बनाउने निर्णय गराउँदा राई मुख्य खेलाडीमध्ये रहेको प्रहरीको निष्कर्ष छ। राईलाई ठगी, संगठित अपराध, राज्य विरुद्धको कसूर र सरकारी लिखत कीर्तेमा सजाय हुनुपर्ने माग गरिएको छ।

 

तपाईको प्रतिक्रिया