शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – सजिलै धन कमाउने प्रपञ्चमा राज्यशक्ति र सत्ताको दुरूपयोग कतिसम्म हुनसक्छ भन्ने उदाहरण हुन्, सुरेन्द्रराज दाहाल । नक्कली भुटानी शरणार्थीको फाइल सदर नगरेकै कारण दुई वर्षअघि उनलाई तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेले बेलडाँगी (दमक) भुटानी शरणार्थी शिविर व्यवस्थापन समिति प्रमुखबाट ताप्लेजुङ सरुवा गरिदिएका थिए । संयोग, खाँण पक्राउ परेकै दिन वैशाख २७ मा उनको ताप्लेजुङबाट इलाका प्रशासन कार्यालय दमकमा सरुवा भएको छ ।

इलाका प्रशासन कार्यालय उर्लाबारीमा कार्यरत नायब सुब्बा दाहाललाई गृह मन्त्रालयले ०७७ साउनमा बेलडाँगी शरणार्थी शिविरको नियमित कामकाज हेर्ने व्यवस्थापन प्रमुख (आरसियू) तोकेको थियो । त्यतिबेला शरणार्थी शिविरमा अनधिकृत मान्छेको आउजाउ, चहलपहल निकै देखिन्थ्यो । अलिक पछि सरकारी सम्पर्क–पहुँचमा रहेको रवाफसहित केशव दुलाल, सानु भण्डारीहरू दाहाललाई भेट्न आइपुगे । उनीहरूले नाम सूचीसहितको फाइल दिँदै दाहाललाई भने, ‘यो फाइल तु सदर गरेर गृहमा पठाइहाल्नुपर्यो, यसमा माथिको आदेश जोडिएको छ ।’

भुटानी शरणार्थी समस्याको दीर्घकालीान समाधानका लागि एउटा कार्यदलले काम गरिसकेको र त्यसको प्रतिवेदन गृह मन्त्रालयमा बुझाइसकेको विषयमा दाहाल जानकार थिए तर प्रतिवेदनभित्र के छ भन्ने उनलाई थाहा थिए । बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले ०७६ कात्तिकमा बुझाएको प्रतिवेदन औपचारिक रूपमा अझै सार्वजनिक भएको छैन । दुलालले बुझाएको फाइल हेर्दै र रुजु गर्दै अघि बढ्न खोज्दा दाहालले त्यस्ता नाम, शरणार्थी ठेगाना वा पहिचान पत्ता लगाएनन् । त्यसपछि नायब सुब्बा दाहालले त्यसमा हस्ताक्षर गर्न मानेनन् ।

त्यसअघि झापाको दमक र मोरङको पथरी शनिश्चरेमा रहेका ६ हजार ३ सय ५० शरणार्थीको पहिचानका लागि बनेको संयुक्त प्रमाणीकरण टोलीले सन् २०१९ मार्चमा ४ सय २९ जनाको सूची तयार गरेको थियो, जसमा गृह मन्त्रालयका तर्फबाट स्थानीय प्रतिनिधिका रूपमा यिनै दाहालको नाम र हस्ताक्षर थियो । त्यही कारण थप नामको सूचीमा पनि उनकै हस्ताक्षर गराउन खोजिएको रहेछ । दाहालले नमानेपछि केन्द्रबाट ताकेता आउन थाल्यो । ‘०७८ साउनमा गृह सचिव बनेर आएका टेकनारायण पाण्डेले फाइल सदर गरेर तत्काल गृहमा पठाउनू भनेर फोनमै ताकेता गरे, गृहमन्त्री खाँणका तर्फबाट पनि पिए भन्नेहरूले कल गरिरहे,’ दाहालले सुनाए, नक्कली शरणार्थी बनाएर पठाउनु अपराध हो । जेल जान्नँ भनेर फाइल सदर गरिनँ, अनि दशा सुरु भयो ।’ –कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया